समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागि खचाखच, सागरले पाए प्रवेश टिकटमा टिभी

पोखरा, पुस २६ ।
पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार सहभागिता ह्वात्तै बढ्यो । मेला समापनतिर लम्कँदै गर्दा घरायसी सामान किन्ने तथा मेलाको अवलकोन गर्नेहरुको सहभागिता ह्वात्तै बढेको हो । मेला सोमबार सकिँदैछ । मेला समापन नजिकिँदै गरेकाले उद्यमशीलता सिक्न, नयाँ जानकारी लिन तथा किनमेलको लागि पनि मेलामा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले आम पोखरेलीसँग आग्रह गरे ।
मेलाका प्रचार प्रसार संयोजक तथा संघका महासचिव अर्जुन पोखरेलले शनिबारसम्म करिब ७८ हजारजति दर्शकले मेलाको अवलोकन गरेको अनुमान लगाए । आइतबार पनि मेलामा यस्तै उत्साहजनक सहभागिता रहने उनले आशा व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।
समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक हो भने शिव शिखर कृषि सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको छ ।
मेलासँग नेपाल टेलिकम,गरिमा विकास बैंक ,एनएमबि बैंक,गोल्छा अर्गनाइजेसन,एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमश्री फुड्सको रारा चाउचाउ, बरुण बेभरेज, विजय डिष्टिलरी, हाइलाइफ फुड प्रोडक्ट, सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, बंगलामुखी एम्युजमेण्ट प्रालि पनि मेलाका विभिन्न सहयोगी विधामा जोडिएका छन् ।
मेलाको हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट रहेको छ । मेलाको प्रवेश टिकटमा दैनिक लक्की ड्रमार्फत प्रदान गरिने उपहारको लागि हनुमान प्याराग्लाइडिङ प्रालि,स्काई बर्ड प्याराग्लाइडिङ प्रालि तथा द सोनिका अटोमार्ट प्रालिसँग सहकार्य भएको छ ।
शनिबार बद्रि पंगेनी, प्रजापति पराजुली, पार्वती जिसी, मञ्जु विक, सुरेन्द्र गुरुङ,टस गुरुङ, आरसी पौडेल,लक्ष्मी सुवेदी तथा आधुनिक र पपतर्फ रवि रिमाल, मीना निरौला र विनोद बाँनियाले दर्शक तताए ।
आइतबार पप तथा सुगम संगीतका चर्चित हस्ती प्रमोद खरेललाई सन्तोष बस्यालले साथ दिनेछन् भने लोकदोहोरीतर्फ सीता परियार, राजु गुरुङ, शान्ति डोटेल, सुनिता नेपाली, माधव चापागाईँ, दीपक गदाल, सुरेश राना मगरको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जनाए । उनका अनुसार मेलामा चम्सुरी र दाह्री बाको हाँस्य प्रहसन पनि रहनेछ ।
शनिबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान ६० रुपैयाँतर्फको टिकट नम्बर १३१६१ लाई र ६० रुपैयाँतर्फको टिकट नम्बर १०६१८ लाई तथा ३२ इञ्चको टिभी उपहार १२३११ नम्बरको टिकट लिएर मेला प्रवेश गर्ने पर्वत धाइरिङका सागर गिरिले प्राप्त गरेको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए । सागरलाई मेला परिसरमै आयोजित कार्यक्रममा टिभी उपहार प्रदान गरियो ।