समृद्धिको सपना साकार पार्न आएँ : विद्या

 

पोखरा, कार्तिक २४ ।

नेकपा कास्की २ का उम्मेद्वार विद्या भट्टराई अधिकारीले आकस्मिक रुपमा उत्पन्न परिस्थितिपछि पार्टीले सर्वसम्मत विश्वास गरेर जिम्मेवारी दिएपछि उम्मेद्वार बनेको बताएकी छन् । उनले नेकपा नेता रवीन्द्र अधिकारीले प्रतिवद्धता गरेका बाँकी सपना पूरा गर्ने अभियान नै निर्वाचन भएको विचार राखिन् ।

पोखरा २१ निर्मलपोखरीमा आइतबार भएको कार्यक्रममा उनले भनिन्, ‘जुन, देश निर्माणकालागि उहाँ वाचा गरेर उहाँले जानुभएको थियो । त्यो बाचा पूरा गर्ने अभियानमा जुटिरहेको अवस्थामा गुमाउनुप¥यो ।’ गत फागुन १७ गते भएको दुर्घटनापछि आफूलाई कास्कीका आमाहरु, बाहरु, दिदिबहिनीहरु, दाइहरुले साथ दिएको उल्लेख गरिन् । उनले भनिन्, ‘मसँगै आसु पुछ्न सिङ्गो जनसमुदाय छ । त्यसैको आडमा अघि बढ्छु भन्ने निर्णय गरें । र, आज उम्मेदवारको रुपमा उपस्थित भएकी छु ।’

पोखरा २१ को निर्वाचन परिचालन कार्यालय पनि आइतबारै सुरु भएको छ । उनले आफू समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने अभियानको अभियान्ता बन्ने प्रतिज्ञा गरिन् ।

नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले जनताले दिएको ५ वर्ष नपुग्दै अकल्पनीय घटनाका कारण फेरि चुनावमा होमिनुपरेको उल्लेख गरे । यस क्षेत्रको सडक, खानेपानी लगायतका विकासका पूर्वाधारमा रवीन्द्र अधिकारीको उल्लेख्य योगदान रहेको उनले स्मरण गरे ।

कार्यक्रममा नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेल, नेकपा पोखरा २१ अध्यक्ष कृष्ण थापामगरले पनि बोलेका थिए ।

११ वटै वडामा चुनाव परिचालन कार्यालय

नेकपा कास्कीलेउम्मेदवारसहित घरदैलोसँगै चुनाव प्रचारलाई व्यवस्थित र प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटी कार्यालय स्थापना गरेको छ ।

कास्की २ मा वडा नं. ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ पर्छन् । नेकपा चुनाव प्रचारप्रचार उपसमिति संयोजक त्रिभुवन पौडेलले चुनाव हुने सबै वडामा आइतबार बिहान कार्यालय स्थापना गरिएको बताए ।

पोखरा ८ को कार्यालय नेकपा केन्द्रीय सदस्य एवं कास्की सहइन्चार्ज शारदाप्रसाद सुवेदीले उद्घाटन गरे । उनले देशको विकास र समृद्धिका लागि कम्युनिस्टको नेतृत्व आवश्यक रहेको बताए । पोखरा महानगरकाउपमेयर मञ्जुदेवी गुरुङले विद्या भट्टराई अधिकारीे विद्यार्थी राजनीति हुँदै महिला र प्राज्ञिक क्षेत्रबाट निरन्तर राजनीतिमा क्रियाशील रहेको जनाइन् । कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बराल र नेकपा पोखरा ८ अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले पनि बोलेका थिए ।

पोखरा १७ को निर्वाचन परिचालन कमिटी कार्यालय केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सुरुआत गरे । नेकपाको बलियो क्षेत्र भए पनि चूपचाप नबस्न उनले नेता, कार्यकर्तालाई सजग गराए । ‘कहिलेकाँही नबगाउने खोलाले पनि बगाउन सक्छ, सजग, सचेत र पूर्ण परिचालित हुनुपर्छ ।’ निर्वाचन कमिटीले पोखरा १७ मा खस्ने मतमध्ये ८० प्रतिशत नेकपा कास्की २ का उम्मेदवारले पाउने दाबी गरेको छ ।

कार्यक्रममा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले १ हजार १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी रहेको वडामा सबै समितिका सदस्यलाई सक्रिय भएर निर्वाचनमा जुट्न आग्रह गरे ।

पोखरा २० को भलाम र मौजामा चुनाव परिचालन कार्यालय स्थापना भएको छ । साविकका भलाम गाविस र मौजा गाविसका दुबै ठाउँमा कार्यालय खोलिएको हो । भलामको कार्यालय महानगर कमिटी सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालय साविक मौजा गाविसका पूर्व अध्यग्क्ष चित्रबहादुर गुरुङले उद्घाटन गरे । नेकपा उम्मेदवार विद्या भट्टराईलाई चुनावी मैदानमा उतारेर मतान्तर १३ हजार पु¥याउने दाबीसहित नेकपा चुनावी अभियानमा छ ।

पोखरा ३३ मा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य भीम कार्कीले यो चुनावले नेपाली राजनीतिमा कास्कीबाट अर्को हीरा जन्माउने उद्घोष गरेका छन् । विगतको रवीन्द्र अधिकारीको विरासतलाई झन उच्च बनाउन विद्या भट्टराई र्निविकल्प उम्मेदवार भएको उनको भनाइ छ । कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य सृजना त्रिपाठी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य माधव बास्तोला, पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, नेकपा पोखरा ३३ अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, नेकपा ३३ का संगठन विभाग प्रमुख मनोहर आचार्य, विश्वेश्वर हरामी, सचिव गोपाल पुन लगायतले बोलेका थिए ।