समान तलव माग्दै पिएन क्याम्पसका शिक्षकले गरे क्याम्पसमै तालाबन्दी

पोखरा, साउन २५ ।
पृथ्वी नारायण क्याम्पसका आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै क्याम्पसको मुल गेटमा अनिश्चितकालीन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरणवद्ध आन्दोलन गरेपनि सुनुवाई नभएपछि तालाबन्दी गर्नुपरेको उनीहरुले सुनाए ।

दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पढाईरहेका आशिंक शिक्षकहरुले गत वर्षको माघ २० गते क्याम्पस प्रशासन, आशिंक शिक्षक र त्रिवि प्रतिनिधी बीच सहमति गरेपनि त्यो कार्यान्वयन भएन । सहमति कार्यान्वयन हुनुपर्ने आवाज सहित शिक्षकहरुले तालाबन्दी गरे ।

क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोईराला आएपछि आशिंक शिक्षकका मागलाई साउन २२ गते सम्म समाधान गर्न २ बुँदे प्रतिबद्धता जनाएका थिए । त्यो प्रतिबद्धता पनि पूरा भएन । कुनैपनि माग पुरा नभएपछि आन्दोलनमा उत्रिएको आशिंक प्राध्यापक संघ पिएन क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले जानकारी दिए । ‘हामी विगत १४ वर्ष देखि श्रम शोषणमा छौं । अव पनि हाम्रा माग समाधान गरिएन भने संघर्षपूर्ण आन्दोलन हुन्छ । पछि हट्नेवाला छैनौं ।’

क्याम्पस प्रमुख कोइराला पनि शिक्षकहरुको माग जायज भएको बताउँछन् । त्यसको कार्यान्वयनका लागि केन्द्रमा कुरा भैरहेको भन्दै उनले अधिकतम समाधानको बाटो खोज्ने बताए । क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुको भागमा रहेको आन्दोलित शिक्षकहरुको दावी छ । क्याम्पसमा हाल २ सय २० भन्दा बढी आंशिक शिक्षकहरु छन् ।