समानुपातिक सांसद टुंग्याउँदै काँग्रेस, केसीमात्रै कास्कीबाट

प्रकाश ढकाल

पोखरा, पुस १२ ।
नेपाली काँग्रेसले प्रतिनिधीसभा तर्फको समानुपातिक सांसद लगभग टुंग्याएको छ । काँग्रेसले पठाएको सांसदको सूचीमा कास्कीबाट एकजना मात्रै भाग्यमानी परे । उद्योगपति समेत रहेका सूर्यबहादुर केसी नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद भएका छन् । काँग्रेसले बुझाएको बन्दसूचीमा केसी कास्कीबाट पहिलो नम्बरमा थिए ।
उनी काँग्रेसका लागि नवप्रबेशी हुन् । यद्यपी काँग्रेसले सांसद बनाउने भएकै कारण काँग्रेस प्रबेश गरेका श्रोत बताउँछ । कास्कीबाट प्रतिनिधीसभाका लागि समानुपातिकतर्फ ३ जनाको नाम बन्द सूचीमा थियो । केसीसहित आनन्दराज मुल्मी र रसकुमारी गुरुङ सिफारिसमा परेका थिए । तर केसीमात्रै यो जिल्लाबाट सांसद हुन सफल भएका हुन् । ४ नम्बर प्रदेशबाट प्रतिनिधीसभा निकै कम सांसद छन् ।
पर्वतबाट लालकाजी गुरुङ र नवलपुरबाट विनोध चौधरीमात्रै प्रतिनिधीसभा सांसद भए । महिलातर्फ १ जना मात्रै सांसद बनेकी छिन् । बाग्लुङबाट सिफारिसमा परेकी ज्ञान कुमारी छन्तयाल महिला कोटाबाट सांसद भएकी हुन् ।