समाजवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ओली सरकारको दुईतिहाइ गुम्यो

 

काठमाडौं, पुस ९ ।

समाजवादी पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।

यसअघि, मंगलबार पार्टीका तर्फबाट उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।

संविधान संशोधनको प्रस्ताव अस्वीकार गरिएपछि समाजवादीले सरकार छाड्दै समर्थन फिर्ता लिएको जनाएको छ ।

योसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको छ । सरकारसँग अब साधारण बहुमत छ । सरकार सन्चालनमा कुनै बाधापर्ने छैन ।

समाजवादी पार्टीका तर्फबाट संसदमा १७ जना सांसद छन् ।

पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको र अब समाजवादीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पहिचानमा आधारित संघीयता र प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली स्थापित गर्न सडक र सदनबाट संघर्ष गर्ने बताए ।(ईमेजखबरबाट साभार)