समाजवादः कांग्रेस र कम्युनिस्ट

सरस्वती गुरुङ
‘कम्युनिस्टहरु धोकाको तर्क दिन्छन्, रोटी चाहिन्छ कि स्वतन्त्रता ? भन्छन् । अर्थात् रोटी र स्वतन्त्रता उनीहरु परस्पर विरोधी कुराको रुपमा प्रस्तुत गर्छन् । स्वतन्त्रता मुलभूल प्रवृत्ति होइन, भोक नै मूलभूत प्रवृत्ति हो भने, जति पनि ठूला क्रान्तिहरु भएका छन्, पेटको निम्ती भएका छैनन् । कुनै पनि क्रान्ति पेटमा खानेकुरा भएन भनेर भएको छैन । ४० लाख भोका मानिसहरु बंगालमा मरेर गए, तर क्रान्ति गरेनन् । त्यो पनि कलकत्तामा मिठाइ पसलहरुको अगाडि रासका रास मानिसहरु मरे, क्रान्ति गरेनन् । फ्रान्समा भएको क्रान्तिको नारा थियो, समानता, स्वतन्त्रता र बन्धुत्व । अहिले पनि जहाँसुकै क्रान्तिको कुरा हुन्छ, त्यहाँ स्वतन्त्रताको भावना छ । पशुपतिमा सद्बिउ छर्न आएका लाखौं महिला रोटीको निम्ती आएका होइनन्, कुनै भावनाले आएका हुन् । यो भन्नु झुठो कुरा हो– गरिब जनतालाई स्वतन्त्रताको महत्व छैन ।’

महामानव विश्वेश्वरप्रसाद कोइरालाका यी जीवन्त वाणीहरु अहिले मानसपटलमा लगातार घुमिरहन्छ । बिपीलाई गुमाएको झण्डै ४ दशक बित्न लाग्यो । त्यस दिनदेखि नेपालको राजनीति बहुत खतरामा छ । जति परिवर्तन भयो देश, उति बिपी कोइरालाको अभाव खड्किँदै गइरहेको आभास हुन्छ । हामी भन्छौं देशमा भयंकर परिवर्तन भयो । त्यसो हो भने बिपीका विचार किन बदलिन सकेनन् ? आफ्नै समयलाई पानामा उतारेका बिपीका विचार कति कालजयी छन्, त्यो हेक्का सायदै कसैले गरेका हुन् ।

कोइरालामात्रै आफू जन्मिएनन्, देशका लागि एउटा सिद्धान्त जन्माए । जन्माए नेपालको छुट्टै इतिहास । अनि जन्मियो नयाँ शासन व्यवस्था । बिसौं शताब्दीमा नेपाली इतिहासले गर्व गर्न लायक कोही नेपाली छ भने त्यो एउटामात्रै नाम हो बिपी कोइराला । ७ दशकदेखि जनताको शासन जनताकै हातमा सुम्पिने महान् आन्दोलनको नेतृत्व गरेका बिपीले स्थापना गरेको पार्टी अहिले कुन अवस्थामा छ ? बहसको कुरा यो हो । हामीलाई थाहा छ, नेपाली राजनीतिको हरेक समय कोइरालाकै पार्टीको नेतृत्वमा छ । कांग्रेस सरकारमा जाँदा होस् वा प्रतिपक्षमा रहँदा, नेपालमा हुने हरेक परिवर्तनको नेतृत्व उसैसँग छ । गुटबिनाको राजनीति विश्वमा छैन । अरु देशमा पार्टीभित्र गुट चल्छ, नेपाल र विशेष गरी नेपाली कांग्रेसमा गुट बाहिरै छताछुल्ल हुन्छ । समस्या यहींनेर छ । आर्थिक समानता र न्याय, समावेशी सिद्धान्त र यसको व्यवस्थापनप्रति बिपीको गहिरो र निरन्तर चिन्तनको परिणाम नै नेपाली कांग्रेस हो । हामीले यसलाई बुझेनौं तर बुझ्नुपथ्र्यो ।

एक विद्वानले भनेका थिए–जुन देश गरिब छ त्यही देशमा धेरै पार्टी खुल्छन् र उति नै विदेशी शक्तिको मनपरि चल्छ, एनजिओ आइएनजिओमार्फत । देशभित्र राजनीतिक तरलता चल्दा विदेशीले खेल्ने ठाउँ पाउँछन्, यो उतिबेलै बिपीले भनेका थिए । यसलाई मान्ने हो भने नेपालको गरिबी र नेपालमाथि विदेशीको हस्तक्षेप सहजै अनुमान लाउन सकिन्छ । त्यसो भए राजनीति केका लागि ? प्रश्न यो पनि होला । राजनीति जनता र देशकै लागि हो, तर त्यसो हुन सकेको छैन । विडम्बना यही हो । चुनावको प्रक्रियाबाट सत्तामा आउन चाहने पार्टीले हरेक चुनावलाई बडो विवेचनात्मक ढंगले अध्ययन गर्नुपर्छ । हारेको छ भने हार मान्नुपर्छ । जसरी पनि सत्तामा जानुपर्छ भन्ने कांग्रेसको अडान छैन । धैर्य गरौं र जनतामा जाने आँट गरौं, जुन पद्धतिबाट हामी प्रतिपक्षी भयौं सोही पद्धतिले देशको बागडोर कांग्रेसको हातमा सुम्पिने छ ।

कसैलाई गाली गर्नका लागि विल्कुल लेखिरहेको छैन मैले । तर एउटा चिन्ता मनमा छ–साँच्चै बिपीले भनेजस्तै कम्युनिस्टले स्वतन्त्रता र रोटीमध्ये एक रोज्न लगाए भने ? आयातित सिद्धान्त फेल हुन्छ भन्ने प्रमाण मैले दिइरहनुपर्दैन भन्ने ठानेको छु । मागेका कुराले कति छाक टर्ला ? कम्युनिज्म नेपालको माग होइन, न यो हाम्रो आवश्यकता हो । हामी हाम्रो आदिम सिद्धान्तलाई पछारेर आयातित सिद्धान्तको जयजयकार गरिरहेका छौं । यसले देशको भलो हुन्छ कि कुभलो ? त्यसो भए राष्ट्रिय सिद्धान्त टोकरीमा फालेर विदेशी सिद्धान्तको पछि लाग्ने कम्युनिस्ट पार्टी कुन अर्थमा राष्ट्रवादी ? स्थायी सरकार हुँदैमा देश विकसित हुने पनि होइन । त्यसको प्रमाण त हामीले भोगेर आइसक्यौं । एकताका राणाको स्थायी सरकार थियो, त्यसपछि राजाको । पञ्चहरुले पनि लामै समय स्थायी शासन चलाए । त्यतिबेला पनि विकास हुन सकेन भनेर आन्दोलन गर्ने हामी नै होइनौं ? त्यसो भए हामी केका लागि स्थायी सरकार मागिरहेका छौं ? मलाई सोध्न मन छ–बिपीले राजासँग मिलेर देश बचाऔं भन्दा अटेर गरेर भाग्ने को थियो ? अनि मलाई यो पनि सोध्न मन छ–तपाईंहरुको स्थायी सरकारले पनि देशमा परिवर्तन आएन भने ?

विगतका कुरा कोट्याएर समय खेर फाल्नु छैन मलाई । तर बिपी कोइराला न राजासँग डराए, न पञ्चायतसँग । उनी निरन्तर जनताको पक्षमा उभिइरहे । त्यसपछिका नेताहरुलाई उनको ठाउँमा पुग्ने सौभाग्य मिलेको छैन । मैले इतिहासलाई सम्झनुपर्दा लिनुपर्ने नाम हुन्–किसुनजी, गणेशमानजी, गिरिजाबाबु, र मदन भण्डारी । यसबाहेक पनि केही नेताहरु छन् । देशले दुई तिहाई बहुमतको स्थायी सरकार पाएको अवस्थामा अहिलेको राजनीति झनै चलायमान भएको छ । विश्वले हेरेको छ नेपालको राजनीति । कहिले इयुको छाडा वक्तव्य, कहिले भारतीय हस्तक्षेप अनि कहिले चिनियाँ मौन विरोध, हामी सबैको झटारोबाट बँच्नुछ र कोर्नुछ छुट्टै इतिहास ।

प्रजातान्त्रिक समाजवादलाई व्याख्या गर्दा पनि बिपीले जोड घटाउमा प्रष्ट्याएका छन् । उनी भन्थे, ‘साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ ।’ साम्यवादमा प्रजातन्त्र थप्ने कि समाजवादबाट प्रजातन्त्र झिकिदिने हाम्रो हातमा छ । यही निर्णयले कोर्नेछ नेपालको भविष्य र जनताको भाग्य अनि नेपाली कांग्रेसको स्थायित्व पनि । यो अवस्थासम्म आइपुग्दा हाम्रा महामानवलाई धेरै ठाउँमा छुटाइए । कांग्रेस नै बिपीवादबाट बञ्चित हुन लागेको यो अवस्थामा कम्युनिस्टले बिपी विचार बोक्ने कुरै भएन । नेपाली नेतामा देश, पार्टी र जनताको सामूहिक विकास भन्दा व्यक्ति विकास हुने नियति हावी भइरहेको छ । अहिलेको अवस्थामा मुख्य राजनीतिक शक्तिहरु जुनसुकै नाम दिएर पनि बिपीकै आर्थिक समानता, राजनीतिक स्वतन्त्रता र समाजवादको गन्तव्य यात्रामा छन् । तर कांग्रेस कुन मोडमा छुट्यो ? बिपीको समाजवादलाई घोषणापत्र बनाएर विपक्षीले चुनाव जित्दै गर्दा बिपीकै पार्टीको घोषणापत्र र जनताप्रतिको प्रतिबद्धता के थियो ?

आज पनि हामीले केलाएनौं भने सच्चा अर्थमा बिपीमाथी घात हुनेछ । हामीले हाम्रा आदर्श पुरुषको सम्मानकै लागि भएपनि सच्चिएर व्यवहार गर्नु जरुरी छ । जुन अहिलेको आवश्यकता हो । बिपी भन्नुहुन्थ्यो–पार्टी बलियो बनाउने हो भने जनताका समस्यासँग नजिक होऊ र युवापुस्तालाई नेतृत्वको अवसर देऊ । अब पनि सोच्ने बेला भएन ?
जय नेपाल ।

साभार–समाधान दैनिक