समर्थक र प्रश्तावक नपाएपछि उम्मेदवार त्यसै फर्किए

पोखरा, कार्तिक २२ ।
जनकपुरका डा. कृष्णचन्द्र प्रसाद साह कास्की २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उमेदवारी दर्ता गर्न बिहीबार निर्वाचन कार्यालय पुगे । तर, उनले प्रस्तावक र समर्थक पाउन सकेनन् । उपनिर्वाचनको उम्मेदवारका आकांक्षी साहले प्रस्तावक र समर्थक नपाएपछि जनकपुर नै फर्किने घोषणा गरेका छन् ।

यस अघिको निर्वाचनमा उनले जनकपुर ४ बाट प्रतिनिधि सभामा उम्मेद्वारी दिएका थिए । उनले २०७० मा संघीय लोकतान्त्रिक फोरम नेपाल र २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए । उपचुनावका लागि साह ३ दिनअघि पोखरा आएका थिए ।

केही वडाहरुमा उनले प्रचारप्रसार समेत गरे । तर प्रश्तावक र समर्थक नपाएपछि उनी त्यसै फर्किएका हुन् । ‘तराई र पहाडका जनतालाई जोड्नु छ । दुवैबीच भाइचारा चाहिएको छ । यो इन्टरकनेक्सनका लागि मैले उम्मेदवारी दिन लागेको थिएँ,’ उनले भने, ‘तर प्रश्तावक र समर्थक पाईन । पाएकाहरुले बार्गेनिङ गरे । म शासनमा सुधार हुनुपर्छ भनेर चुनावमा सहभागी हुँदैछु । पैसा तिरेर समर्थक र प्रश्तावक खोज्नु राम्रो होईन । बरु उम्मेदवारी दिन्न ।’ उनी सिञ्चाई तथा जलश्रोत विज्ञ हुन् ।