सप्तरीको मलेठ घटनाबारे झुट बोले प्रधानमन्त्री ओलीले

जनकपुर, भदौ २ ।
२०७३ फागुनमा सप्तरीको मलेठमा भएको घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेका छन् । शनिबार प्रदेश २ को संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सप्तरी घटनाबारे केही बेर बोलेका थिए । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा सकेर राजमार्ग पुगेपछि गोली चलेको बताएका छन् ।

तत्कालीन नेकपा एमालेको मेची–महाकाली चुनावी अभियानका क्रममा फागुन २३ गते सप्तरीको मलेठमा आयोजित सभाको विरोधमा उत्रिएका लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीहरुमाथि प्रहरीले चलाएको गोलीबाट ५ जनाको ज्यान गएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ’म त जनतालाई आफ्नो कुरा भन्न गएँ त्यहाँ । केही कुराहरु भनेँ । र, म फर्किएँ । हामी हाइवे पुगेपछि गोली चल्यो । सभा सिद्धिएपछि गोली किन चल्यो ? कसले चलायो र किन चलायो ?’

उनले सम्बोधनमा थपे, ’आमसभा सकिएर राजमार्गमा पुगेपछि मैले सुनेँ–गोली चल्यो । हामी कति किलोमिटर माथि पुगिसकेपछि गोली चल्यो । गोलीकाण्डको रचना कसले र्गयो, किन र्गयो ? न म सरकारमा, न मेरो नेतृत्वमा सरकार हो, न म बन्दुक लिएर गएको हो, न मैले गोली चलाएको हो । केही पनि होइन ।’

ओलीले आफू सभाबाट राजमार्ग पुगेपछि गोली चलेको बताएपनि मानवअधिकार आयोगको प्रतिवेदनमा भने ओलीले सम्बोधन गरिरहँदा नै गोली चलेको बताएको छ । प्रतिवेदनमा भनिएको छ–’केपी शर्मा ओलीले बोल्दै गर्दा मोर्चाका कार्यकर्ताहरु अत्यधिक आक्रोशित भई पर्खाल नाघी कार्यक्रम स्थलमै प्रवेश गर्न खोज्दा त्यहाँ तैनाथ सशस्त्र प्रहरीले गोली चलायो । प्रहरीले चलाएको गोली लागि ३ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भयो । कैयौं व्यक्तिहरु घाइते भए ।’-nepallive