सपथग्रहणको लागि मनाङेले दिए निवेदन
पोखरा, पुस १२ ।
सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन् । मनाङेको प्रतिनिधिले विहिबार प्रदेशसभा प्राङ्गणमै आएर लिखित निवेदन दिएका हुन् । प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने विषयको निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।
निवेदन दर्ता भएतापनि बाँकी प्रक्रिया भने कानुन अनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुन अनुसार नै हुन्छ’ उनले बताए ।
गतवर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । उनले निर्वाचन जितेतापनि हालसम्म प्रदेशसभा सदस्यको हैसियतमा सपथ भने लिएका छैनन् । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले मुद्दा फैसला नभएसम्म सपथ लिन नमिल्ने बताएका छन् । ‘थुनामुक्त हुनु भनेको मुद्दा फैसला हुनु होईन,’ उनले भने, ‘अदालतले मुद्दा टुंग्याएको हकमा भने उनले सपथ लिन पाउँथे ।’
गण्डकी प्रदेशको प्रदेशसभा नियमावली अनुसार बिना जानकारी लगातार १० बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्यको पद खारेज हुने व्यवस्था छ । तर, प्रदेशसभामा सपथ नलिएका कारण मनाङेको पद भने गएको छैन । ‘अदालतले धरौटी र तारेखमा रिहा गरेपछि जेलमा बस्नु पर्दैन, घर जान पाउँछन, तर यो भनेको मुद्दा फैसला होईन,’ उनले भने । आधिकारिक रुपमा केही नआएको हुँदा निर्णय लिन नसकिने उनले बताए । सपथ ग्रहण नलिएका कारण मनाङ ‘ख’ मा चुनाव जित्ने उम्मेदवारको मान्यता नै नभएको उनको भनाई छ ।
तत्कालीन एमालेबाट चुनाव लड्न खोजेपनि एमालेले उनको छविका कारण टिकट दिएन । पछि उनकै लागि ठाउँ खालि गरिदिन एमालेले आफ्नो उम्मेदवारलाई फिर्ता बोलाएको थियो । डनको छवि बनाएका मनाङे प्रदेशसभा छिर्नुअगावै गत वैशाखमा ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भए । मनाङे कारागार चलानसँगै रिक्त बनेको मनाङ ‘ख’ हालसम्म पनि रित्तै छ । त्यहाँ उपनिर्वाचनको सम्बन्धमा कुनै सरसल्लाह भएको छैन् । निर्वाचन आयोगले संघीय सरकारले सक्रियता देखाएपछि मात्र आयोगले निर्वाचन गराउने प्रतिक्रिया दिएको छ ।