सदनमा खगराजको प्रश्न–पोखरा एयरपोर्टको विरोधीलाई कारवाही गर्ने आँट छ ?

पोखरा, जेठ २७ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले सदनमा पोखरा विमानस्थल निर्माणका बिषयमा खरो प्रश्न गरेका छन् । विमानस्थल निर्माणमा बाधा पु¥याउने तत्व सक्रिय भएको भन्दै त्यस्ता तत्वमाथी छानवीन गरी कारबाहीको दायरामा ल्याउन उनको माग छ ।

‘२०३२ सालदेखि जग्गा अधिग्रहण गरेर १५ प्रतिशत निर्माणको काम भैसक्यो । ठेक्कापट्टाको काम पनि सकियो । अहिले सम्याउने काम लगभग टुंगिएको छ, उनले भने–पोखरा अन्तराष्ट्रिय विमानस्थलका बारेमा एकाएक सरकारकै बिशेषज्ञको नाममा नक्कली ढंगले अव अन्तराष्ट्रिय उडान हुन सक्दैन भन्ने अधिकार कसले दियो ? तिमाथी कारबाही हुन्छ कि हुँदैन ?’

विकास निर्माणमा बाधा दिने मन्त्रालयमै कर्मचारी भएको भए छानवीन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ । नेपालको विकास निर्माणमा विकास विरोधी एजेण्ट घुसेको टिप्पणी गर्दै अधिकारीले त्यसमाथी तुरुन्त कारबाही गरी सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

‘जनताको मनमा चिसो पानी खन्याउने काम भएको छ । अन्तराष्ट्रिय हवाई उडानको झुट प्रचार गर्नेमाथी कारबाही होस्, उनले थपे–विकास विरोधी तत्वलाई थुतेर कारबाही गर्ने आँट पर्यटन मन्त्रालयसँग छ कि छैन ? म कारबाहीका लागि जोडदार माग गर्दछु ।’