सडक कालोपत्रे गरेको एक दिनमै उप्कियो, स्थानीय आक्रोशित

बागलुङ, कार्तिक २ ।
बागलुङ नगरपालिका–१ रामरेखामा गरिएको सडक कालोपत्रे एक दिनमै उप्किएको छ । बागलुङ नगर कार्यपालिकाको कार्यालय र सडक बोर्डको संयुक्त लगानीमा निर्माण गर्न लागिएको उक्त सडक कालोपत्रे गरेको भोलिपल्ट नै उप्किएको हो ।

बागलुङ नगरपालिका–१ रामरेखाको जसवीर टोलदेखि बागलुङ–बेनी राजमार्ग जोड्ने सडक सम्मको २ सय ८ मिटर सडक मध्य कालोपत्रे गरिएको ३० मिटर सडकको दुवै छेउ कमसल देखिएको छ । विहीबार साँझसम्म गरिएको सो सडकको पिच शुक्रबार स्थानीयबासीले हेर्दा उप्किएको देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए ।

बागलुङ नगरपालिका–१ का स्थानीयबासी जसवीर श्रीस मगर र सुमित्रा शर्माले जनताको आँखा छारो हाल्ने काम भएको भन्दै आक्रोशित भएका छन् । मापदण्ड अनुसार काम गर्नुपर्ने भन्दै सम्बन्धित निकायलाई ध्यानाकार्षण गराएका छन् ।

वडा कार्यालयको संयोजनमा बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्मा लगायतको प्राविधिक टोलीले हेर्दा सडक छेउमा गुणस्तर कम भएको देखेपछि ३० मिटर सडकमा गरिएको कालोपत्रे उप्काएर पुनः निर्माण गर्न निर्देशन दिइएको छ । बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले कालोपत्रे गर्दा ढुंगा नबढारिकन गरेकाले राम्रोसँग जम्न नपाएको एवं गुणस्तरीय काम नभएकाले ठेकेदार कम्पनीलाई पुन बनाउन लगाइएको बताउनुभयो ।

सडक बोर्डबाट प्राप्त ८२ लाख २१ हजार रुपैयाँमा बागलुङ नगरपालिका वडा नम्बर एकको रामरेखा, दुईको राइटरको चोकदेखि बागलुङ बेनी राजमार्ग जोड्ने सडक, वडा नम्बर तीनको विद्युत चोकदेखि स्यानीपिपल र वडा नम्बर चारको आर्मी क्याम्प अगाडि र ओढारचौर ढोडेनी सडक खण्डमा विग्रएका संरचना मर्मतका लागि तिलक निर्माण सेवाले ठेक्का पाएको थियो ।

नगरका अन्य ठाउँमा पनि काम गरिरहेकाले लगत इष्टिमेटमा भए अनुसार काम भए नभएको बारेमा अनुगमन गरेर सोही अनुसार काम गर्ने नगरपालिकाले जनाएको छ । पत्रकार रविना बोहराले न्यूज २४ को लागि समाचार लेखेका हुन् ।