सडकमा फोहोर फाल्दै हुनुहुन्छ ? महानगरको गस्तीमा पर्नुहोला

पोखरा, पुस २७ ।
पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् ।

समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ । अनुगमन टोलीको आँखा छलेर फोहरमैला फाले भने पनि टोलीले कसको फोहरमैला हो भनेर पत्ता लगाएर जरिवाना लिने वडाध्यक्ष रामराज लामिछाने बताउँछन् ।

पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुङ्गा र न्यूरोडको क्षेत्रपर्ने वडा नं ९ मा सरसफाइ अनुगमन समिति गठन भएर प्रत्येक रात र बिहान समिति गस्तीमा निस्कने गरेको छ । फोहरमैला महानगरको फोहर बोक्ने गाडीमा मात्र फाल्नुपर्ने र जथाभावी सडकमा ल्याएर फाल्नेक्रम बढेपछि वडाले अनुगमन समिति बनाएर दैनिक गस्ती गर्न थालेको हो ।