सञ्चारमन्त्री भन्छन्–‘अमेरिकामा त पत्रकारलाई मृत्युदण्ड पनि दिईन्छ, १ करोड जरिवाना लाग्छ’
चितवन, बैशाख ३१ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने टिप्पणी गरेका छन् । मिडिया काउन्सिल विधेयकलाई लिएर नेपाल पत्रकार महासंघले आन्दोलन गरिरहेको छ ।मन्त्री बास्कोटाले भने कोही मानिस कुरै नबुझी दौडिरहेको बताए । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेसका नाममा छाडातन्त्र स्वतन्त्रताको नभएको बताए ।
सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उनले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्ड समेत दिइने गरेको बताए । उनले प्रश्न गरे, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ? ‘यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दै उनले आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न नमिल्ने बताए ।
समाचार लेखेर कोही पनि पक्राउ नपर्ने भन्दै उनले संसदमा दर्ता भएका र हुन लागेका कानून अन्तराष्ट्रिय प्रचलन हेर्दा त्रुटि देखिए सच्याउन सकिने बताए । तर मनमा अरू नै कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वा्चित सरकार हो ।’ संवाद भने जरुरी रहेको बताए । उनले भने, ‘सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।’