सच्चाईको बास्तविकताः उपचारको नाममा धर्म परिवर्तन, पोखराबाट पक्राउ परे पुन

पोखरा, साउन २८ ।
साउन पहिलो साता पोखराको लेकसाईड क्षेत्रबाट बाईबल सहित घरघरै डुलिहिड्ने १ जना कोरियन नागरिक पक्राउ परे । ७३ बर्षिय चो युसाङ्गलाई जरिवाना लिएर आफ्नै देश फर्काईएको छ । त्यसको भोलिपल्ट बैदाम क्षेत्रबाटै पुनः २ जना समातिए । बाईबल सहित पक्राउ परेका दुवैजना जापानी नागरिक हुन् ।

प्रहरी अनुसन्धानबाट उनीहरु धेरै पहिलेदेखि पोखरा सहित नेपालका विभिन्न ठाउँमा पुगेर धर्म प्रचार गरेको देखाएको छ । जापानी नागरिकलाई पनि जापान फकाईएको कास्की प्रहरीले जनाएको छ ।

अहिले पनि पोखराबाटै अर्का एकजना पक्राउ परे । उनी चाहीँ नेपाली नै हुन् । परमेश्वरले शरिरमा लागेको रोग निको पार्ने भन्दै भ्रम छरेर धर्म परिवर्तन गराउने पोखरा १७ महतगौंडाको सच्चाई सत्संगका जमबहादुर पुन पक्राउ परेका हुन् । सबै धर्म मान्न मिल्ने, रोग निको हुने जस्ता प्रलोभन दिएर हरेक शनिबार सच्चाईमा बोलाउने गरेको अनुसन्धानले देखाएको छ ।

पुनले बाइबल र प्रार्थना किताव सर्वसाधारणलाई किन्न बाध्य पारेका स्थानीयले बताए । मूल्य उल्लेख नभएको बाइबलको किताव सर्वसाधारणले ६ सय ७० रुपैयाँमा किनेका छन् । शनिबार सत्संगमा पुगेका सर्वसाधारणकै अगाडी पुन र उनकी छोरीले आफूहरु क्रिश्चियन रहेको र सच्चाई पनि क्रिश्चियन भएको बताएका थिए ।

परमेश्वरको ध्यान गरे मुटुरोग, सबै प्रकारका रोग निको हुने भनी घरदैलो गरेर उनीहरुले त्यस क्षेत्रका स्थानीयलाई भेला गराएका हुन् । जुमबहादुरले भने, ‘परमेश्वरको कृपाले धेरै जना निको भएका छन् । गलत काम गरेका छैनौं ।’ सच्चाईले विभिन्न क्षेत्रमा शाखा खोलेको छ ।

सुरुमा अरु धर्म मान्न पाइने भनी सर्वसाधारणलाई झुक्याइने गरेको छ । बाइबल पढाउने, भजन गाउन लगाउने गर्दै विस्तारै धर्म परिवर्तन गराउने सच्चाइको कुटिल तरिका हो । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

स्थानीय दीपक आचार्यले घरघरै गएर सच्चाईमा गए निको हुन्छ भनी भ्रम छर्ने र छिमेकीलाई वाधा हुने गरी होहल्ला गरेकाले प्रशासनमा जानकारी गराएका थिए । पोखराका लामाचौरमा रहेको सच्चाईले विभिन्न क्षेत्रमा शाखा खोलेको छ ।

सबै धर्म मान्ने त्यहाँ भएको दाबी गरिएपनि उनीहरुका गुरुमध्ये एक जना पनि क्रिस्चियनबाहेक अरु धर्मका छैनन् । सीधै धर्म परिवर्तन गर्न कठिन भएपछि उपचार र विश्वासको आवरणमा भ्रम फिजाउने सच्चाईलाई प्रशासनले कारवाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जुनसुकै नाममा धर्म परिवर्तन गराउने नियत देखिए कारबाही हुने बताए । ‘विदेशी भए जरिवाना लिएर फिर्ता पठाउने हो । नेपालीले त्यस्तो गरेको भए जरिवाना लिनु भनेको छ,’ उनले भने, ‘सच्चाईमा लागेर जीवनका लागि चाहिने केही सीप नसिक्ने र भाषण सिक्ने कुनैपनि हालतमा राम्रो होईन । यसबारे राज्यले नै निर्णय लिनुपर्छ ।’ अहिले नै नियन्त्रण नगरे जटिल परिस्थिती आउन सक्ने उनले बताएका छन् ।