सगरमाथाले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित

पोखरा, चैत २४ ।
स्कुल भवन निर्माणको तयारीमा रहेको सगरमाथा स्कुलले फिर्केमा लगाएको पर्खाल मापदण्ड विपरित रहेको पाईएको छ । मापदण्ड मिचेको समाचार प्रकाशित भएपछि शुक्रबार महानगरका प्राविधिकले नापजाँच गरेर भर्खरै लगाईएको पर्खाल मापदण्ड विपरित रहेको प्रमाणीत गरेका हुन् । उनीहरुले ५ मिटर दुरीमा रेजा लगाएर भत्काउनुपर्ने भनि सुझाव दिएका छन् । ‘हामीले नाप्दा फिर्के अतिक्रमण भन्दा पनि मापदण्ड नमानेको भेटियो । ५ मिटरको दुरीमा रेजा लगाएका छौं, महानगरका एक प्राविधिकले भने–रेजा लगाएको ठाउँ भत्काउनै पर्छ । यसबारे महानगरको आधिकारिक निर्देशन जाला ।’ फिर्केमा अहिले ५ मिटरको मापदण्ड कायम गरिएको छ । यसअघि १० मिटर मापदण्ड तोकिएपनि नगरपालिकाले सच्याएर ५ मिटरमात्रै मापदण्ड कार्यान्वयन गर्न लागेको बुझिएको छ । यद्यपी २८ गते बस्ने नगरसभाबाट यो बिषय टुंगिने छ । ‘पहिले १० मिटर रहेछ ।

अहिले के कारणले हो कुनी ५ मिटरमा नापजाँच भैरहेको छ, प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले भने–२८ गते बस्ने नगरसभामा यो कुरा उठ्छ । त्यसपछि कति लाउने निक्र्यौल हुन्छ ।’ ५ मिटर मात्रै लागू गर्दा खोलाको जोखिम कायमै हुने प्राविधिकहरु बताउँछन् । उनीहरुले १० मिटर मापदण्ड कार्यान्वयन गर्न सुझाएका छन् । फिर्केमा सगरमाथा स्कुलले भवन बनाउने गरी अहिले जग्गा सम्याउने काम गरिरहेको छ । महानगरबाट भवन निर्माणको अस्थायी ईजाजत समेत पाईसकेको छ । तर खोलाको राईट अफ वे चाहीँ टेरेको छैन । फिर्केकै आडबाट जाली लगाएर माटोले पुरिएको छ । सगरमाथा स्कुलका प्राचार्य धनबहादुर थापाले चाहीँ मापदण्ड नमिचेको बताएका छन् ।
मापदण्ड मिचेर काम भएको भन्दै वडा नम्बर ४ वडा कार्यालयले मापदण्ड क्लियर गरिदिन महानगरलाई शुक्रबार पत्र पठाएको छ । वडा कार्यालयको सिफारिस विना अवैध हिसावले काम गरिएकोले काम तुरुन्त रोकी कारबाही अघि बढाउन आग्रह गरिएको वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले जानकारी दिए । पहिले नै मापदण्ड विपरित भएकाले काम अघि नबढाउन निर्देशन गरेपनि मौका छोपेर ग्याभिन भरिएको बास्तोलाको भनाई छ ।