सगरमाथाको उचाइ बढ्यो

काठमाडौं, मंसिर ११ ।
सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव पेश गरेकी थिइन् । मन्त्रालयको प्रस्ताव बैठकको लिखित कार्यसूचीमा राखिएकोे थिएन । क्याबिनेटले ठाडो प्रस्तावका आधारमा उचाइ घोषणा गर्न स्वीकृति दिइएको छ । यद्यपि सगरमाथाको उचाइ कति छ भन्ने मन्त्रीहरुलाई समेत जानकारी दिइएको छैन ।

स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाले अहिले सार्वजनिक नगरिएको हो । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको स्रोतले बतायो ।

सगरमाथाको उचाई मापन कार्य आर्थिक वर्ष ०७५/०७६ मा शुरु भएको थियो । यसै वर्ष उचाई मापन कार्य सम्पन्न भएपछि अब चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको बेला पारेर क्याबिनेटले उचाई सार्वजनिक गर्न स्वीकृति प्रदान गरेको हो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो ।