सकियो प्रदेश ४, अवदेखि गण्डकी प्रदेश

पोखरा, असार २२ ।
प्रदेशसभा गठन भएको आधा बर्ष लागिसक्दा समेत न्वारन हुन नसकेको प्रदेश ४ को नाम शुक्रबारदेखि गण्डकी रहने भएको छ । अव यसअघि भन्दै आएको प्रदेश ४ छोडेर गण्डकी प्रदेश भने पुग्छ ।

शुक्रबारको संसद बैठकले अत्याधिक बहुमतका साथ प्रदेशको नाम गण्डकी राखेको हो । संसदमा सहभागी ५६ सांसदमध्ये ५४ जनाले गण्डकीको पक्षमा मतदान गरे भने २ जनाले विपक्षमा मतदान गरे ।

सुरुदेखि नै विपक्षमा रहेको नयाँ शक्तिले गण्डकी–तमुवान नामाकरण गर्नुपर्ने भन्दै गण्डकीको विरोध गरेको हो । विपक्षमा गरेको प्रश्ताव फिर्ता लिन सभामुखले समय दिएपनि उनले प्रश्ताव फिर्ता लिएनन् ।

शुक्रबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारी सँगै टेकबहादुर घर्ती अनुपस्थित थिए । संविधानको धारा २९५ (२) मा संसदको दुई तिहाई सांसदबाट प्रदेशको नामाकरण गर्न पाउने ब्यवस्था छ । करिब ९७ प्रतिशत सांसदले गण्डकीको पक्षमा समर्थन जनाएका हुन् ।

गण्डकी नाम तोकिएपछि अव प्रदेशका सबै काम यही नामबाट सञ्चालन हुनेछन् । नाम नतोकिँदा प्रदेशका दैनिक प्रशासनीक काम सहित सभा सञ्चालनमा पनि समस्या भैरहेको थियो ।

गण्डकीको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनमोर्चाको समर्थन थियो । प्रदेशसभामा नेकपाका ३९, काँग्रेसको १५, जनमोर्चाको ३ र नयाँ शक्तिको २ मत छ ।