सकियो काहूँ महोत्सव

पोखरा, पुस ८ ।
जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव आइतबार सकिएको छ । महोत्सव समापनको अवसरमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायद्धारा आर्थिक कारोबार बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकीय विकास र धरहरा निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले पहल गर्ने बताए । उनले काहुँ पनि पर्यटकी गन्तव्य बन्दै गएको उल्लेख गरे ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटकीय क्षेत्रमा प्रचूर मात्रामा रहेको काहुँ क्षेत्रमा जग्गा खरिद गरी बाँझो राखन नहुनेमा जोड दिए । होटल रेष्टुरेन्ट स्थापना गरी स्थनीय कृषि उत्पादनलाई स्थानीय क्षेत्रमै प्राथमिकता दिइनुपर्ने बताए ।

पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, महोत्सवको मुख्यप्रायोजक एनएमबी बैंकका गण्डकी प्रदेश उपप्रमख अमृतराज बास्तोला, समाजसेवी टीकाबहादुर काकी लगायतले काहुँलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

महोत्सव संयोजक दीपकप्रकाश आचार्यले महोत्सव अवधिभर कुल ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिए । महोत्सव समापन अवसरमा विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरियो । रत्यौली गीत प्रतियोगितामा काहुँ कालिका समूह प्रथम, काहुँ आदर्श आमा समूह दोस्रो, आर्वा दिदीबहिनी समूह तेस्रो, नमूना आमा समूह र हेमजा आमा समूह सान्त्वना भए ।

खुला लोकदोहोरीगीत प्रतियोगितामा बाराही दोहोरी साँझ प्रथम, दर्पण छाया दोहोरी साँझ दोस्रो, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लमजुङ तेस्रो र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान हेमजाले सान्त्वनाको पुरस्कार पाए । कवितावाचन प्रतियोगितामा संगम संयोग प्रथम, केआर ढकाल दोस्रो, तारानाथ पराजुली तेस्रो र नीरज दाहाल सान्त्वना भए ।

खेलकुदतर्फ साइकल रेस, पर्वतीय दौड र चित्रकला प्रतियोगितालाई समेत पुरस्कृत गरिएको प्रचार प्रसार संयोजक दामोदर आचार्यले जानकारी दिए ।विगत २०६२ र २०६५ सालमा दोस्रो संस्करणसम्म काहुँ महोत्सव सम्पन्न गराएको योगदानको कदरस्वरुप तत्कालीन महोत्सव संयोजक ईश्वरीप्रसाद आचार्यलाई तेस्रो संस्करणको समापनमा सम्मान गरिएको थियो ।

महोत्सव आयोजक जनकल्याण क्लब अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत फूलबारी क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोला र संचालन फूलबारी क्लब सचिव एवं प्रचार संयोजक दामोदर आचार्यले गरेका थिए ।