संसदमा सरकार र प्रतिपक्षको दोहोरी

पोखरा, असार २० ।
गण्डकी प्रदेशसभामा सरकारले पेस गरेको विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल अन्तिम चरणमा छ । विहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेट तथा कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राखे । छलफलको लगभग अन्तिममा अर्थमन्त्री किरण गुरुङले सांसदको काम कानुन बनाउने भन्दै योजना नपरेकोमा गुनासो नगर्न सुझाए । मन्त्री गुरुङले सरकारले विकास निर्माण गर्ने र सांसदले चाहिँ कानून बनाउनुपर्ने बताए । ‘मैले दिएको योजना प¥यो, परेन भनेर रातभरि नसुत्ने गर्नुपर्छ जस्तो मलाई लाग्दैन । मलाई निदै आएन भन्ने किन ? तपाई चाहिँ नीति बनाउने हो, विधि बनाउने हो, नीति र विधि बनाउने हो,’ उनले भने, ‘अनि त्यसपछि आएर त्यसलाई कार्यान्वयन गर्ने भनेकोसरकारले हो । संसारभरी नै त्यही हुन्छ ।’

त्यसलगत्तै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अर्थमन्त्रीलाई सांसदको भूमिका नसिकाउन चेतावनी दिए । निर्वाचित सांसद भएपछि विकास निर्माणको दायित्व पनि रहने भन्दै उनले अर्थमन्त्रीलाई कडा जवाफ फर्काए । ‘माननीय अर्थमन्त्रीले बढो मिठो तरिकाले, राजनीतिज्ञले जवाफ दिनुभएको छ । तर व्यवहारिक रुपमा हेर्दा हामीलाई थाहा छ, हाउसमा कानून बनाउन आएका हौँ । हामी सबैलाई थाहा छ,’ उनी भन्छन्, ‘तर, किन हामी योजना लिएर जान्छौँ । यदि मन्त्री जी यता भएको भए के हुन्थ्यो ? हामी राजनीतिक व्यक्ति हौं । हाम्रा केही दायित्वहरु छन् ।’

सांसदको भूमिका चाहिने भन्दै सरकारले समेत २ करोड विनियोजन गरेको उनले स्मरण गराए । चालू बर्षको बजेट आउने बेलामा पनि सांसदहरुले बजेट माग्दा सांसदको काम नीति निर्माण गर्ने भनेर अर्थमन्त्री गुरुङले जवाफ फर्काएका थिए । तर आगामी बर्षको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम शीर्षकमा ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ । विपक्षी दलका नेता नेपालीले राजनीतिक रुपमा र विकास निर्माणसँग सक्रिय रहेको बताउँदै बजेट महत्वकांक्षी र वितरणमुखी रहेको प्रतिक्रिया दिए ।

प्रतिपक्षीले आफ्ना योजना सरकारले बजेटमा सम्बोधन नगरेको आरोप लगाए भने सरकारले त्यसको डिफेन्स ग¥यो । विहिबारको छलफलमा सत्तापक्षीय सांसद रामजीप्रसाद बरालले योजना छनौट बढी विवादित बनेको भन्दै छनौटको जिम्मा योजना आयोगलाई दिनुपर्ने बताए । मन्त्रालय, सांसद र स्थानीय तहले त्यसमा सघाउने गरी कार्यविधि बनाउन सुझाए । प्रदेशको राजधानी पोखरालाई बजेट कम भएको भन्दै उनले पोखराको विकास प्रदेशको मापक भएकोले विशेष कार्यक्रम बनाउनुपर्ने बताए । सांसद राजिव पहारीले विनियोजित रकम राम्रो भएपनि ब्यवस्थापन कोष र भैपरी कोषमा रकम थप्न सुझाव दिए ।

सांसद विन्दुकुमार थापाले मन्त्रीमण्डल फेरवदल गर्न मुख्यमन्त्रीलाई सुझाए । अहिलेको सरकार बनेपछि महंगी र भ्रष्टाचार बढेको उनको आरोप छ । अर्का सांसद कृष्ण थापा पनि महंगीका कारण गणतन्त्र विरोधीले औंला उठाउने ठाउँ पाएकोमा सचेत गराए । सांसदहरु पुस्पा केसी भण्डारी, मणीभद्र शर्मा, धनञ्जय दवाडी लगायतले सुशासनमा सरकारले बढी ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।

File Photo