संसदमा गगनको प्रश्नः सोच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई चाहिन्छ र ?

काठमाण्डौं, भदौ ३० ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोच र क्षमता दुबैमा बादल लागेको टीप्पणी गरेका छन् ।

’प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै थापाले सोच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई चाहिन्छ र’ भन्दै प्रश्न गरे ।

संसदमा थापाको मन्तब्य–
ठूलो माछा पक्रन सक्नु भएन । हामी बोलेनौं । कामचोर व्यावसायीलाई कानुन नै नबनाई पक्रनुभयो, छोड्नु भयो । हामी बोलेनौं । ट्रमा सेन्टरबाट डाक्टर उठाउनुभयो, हामी बोलेनौं । विदेश जान लागेका लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो । पत्रकार शम्भु श्रेष्ठलाई स्पष्टीकरण सोध्नुभयो, राजु बस्नेतलाई प्रहरी लगाउनुभयो, हामी बोलेनौं ।

हामीलाई लागेको थियो– गृहमन्त्री व्यक्ति त ठिकै हो, क्षमतामा मात्रै केही बादल लागेको होला । हिजो जब हामी बोल्यौं–गृहमन्त्री पनि बोल्नुभयो । अनि थाहा भयो–युद्ध वा शान्तिको दुबै नियमसँग नमिल्ने कुरा ।

हिरासतमै राममनोहर यादव मारिँदा, निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीलाई आफ्नै संयन्त्रहरु जोगाउन लागिरहँदा ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्रै बादल लागेका होइन रहेछ, बादल त गृहमन्त्रीको सोंचमै लागेको रहेछ । सोंच र क्षमता दुबैमा बादल लागेका गृहमन्त्री हामीलाई चाहिन्छ र ?