संघीयताको विरोधी जनमोर्चा भन्छन्–‘संघीयताको जननी हामी हौं’

पोखरा, असार २१ ।
बर्तमान संघीय ढाँचाको खुलेर विरोध गरिरहेको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयताको जग आँफैले हालेको बताएको छ । प्रदेश ४ को संसदमा नामबारे छलफल गर्दै जनमोर्चाका सांसद कृष्ण थापाले २०६४ सालमै नेपालमा ७ प्रदेश र सबै प्रदेशको नामाकरण जनमोर्चाले टुंग्याएको बताए । ‘संघीयताको कुरा चल्दाखेरि नै जनमोर्चाले एउटा ढाँचा दिएको थियो । त्यही ढाँचामा अहिले संघीय प्रणाली चलिरहेको छ, उनले भने–७ प्रदेश र प्रदेशको नामाकरण २०६४ सालमै जनमोर्चाले टुंग्याएको हो । गण्डकी प्रदेशको नाम हामीले पहिले नै राखेका थियौं । त्यसैले संघीयताको जननी जनमोर्चा हो ।’

राष्ट्रिय जनमोर्चाले प्रदेशसभाको पहिलो बैठकमा नै संघीयताको विरोध गरेको थियो । माघ २२ गतेको पहिलो बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले संघीयता आवश्यक नरहेको र सुनको सिक्रिले बाँधेको भालुको संज्ञा दिएका थिए । तर, विहीबारको प्रदेशसभा बैठकमा भने उनले राज्य पुनर्संरचना र नामाकरणको जननी नै राजमो रहेको प्रतिक्रिया दिए ।

प्रदेशको नाम राख्दा जातीय आधारमा गर्न नहुने उनले प्रतिक्रिया दिए । ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो, जाती र धर्मलाई प्रश्रय दिँदा मुलुक रुवाण्डा जस्तो हुन सक्छ, हामीलाई जातीय रगतले लेखिएको ईतिहास आवश्यक छैन, देशमा जातीय संघीयता आवश्यक छैन् ।’ उनले युरोपियन युनियनले जातिय राज्यको नारा उचालेको भन्दै त्यसको पछि नलाग्न सबैसँग आग्रह पनि गरेका छन् ।