संकल्प प्रस्ताव पारित, भारतसित वार्ताका लागि उपयुक्त समयको पर्खाइमा : परराष्ट्रमन्त्री

 

काठमाडौं, पुस १७ ।

राष्ट्रियसभामा सीमा विवादबारे संकल्प प्रस्ताव पारित भएको छ ।

सरकारलाई निर्देशन

बिहीबार बसेको बैठकले सीमा विवादबारेको संकल्प प्रस्ताव पारित गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा देखिएको सीमा विवाद समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

छलफलपछि पारित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईको प्रस्ताव र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाइँको समर्थनमा दर्ता भएको संकल्प प्रस्तावमाथि बिहीबारको बैठकमा छलफलपछि पारित भएको हो ।

उपयुक्त समयको पर्खाइमा : परराष्ट्रमन्त्री

छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०२० भित्रै भारतसँगको सीमा विवाद सुल्झिने विश्वास व्यक्त गरे ।

उनले सीमा विवाद समाधानका लागि नेपाल सरकारले दुईपटक पत्र पठाइसकेको र सरकार वार्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको जानकारी दिए ।

भारतले झिकेको विवाद निरर्थक

मन्त्री ज्ञवालीले सुगौली सन्धिपछि पटक–पटक सार्वजनिक भएका नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भागमा रहे पनि भारतले पछिल्लो समय झिकेको विवाद निरर्थक भएको टिप्पणी गरे ।

सीमा विवादले अरु सम्बन्धमा असर पार्न हुँदैन : अधिकारी

प्रस्तावमाथिको छलफलमा भाग लिँदै कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेकाले दुई देशबीचको सीमा विवादले अरु सम्बन्धमा असर पार्न नहुने बताए । (ईमेजखबरबाट साभार)