सँधै पहिलो हुने शिवले स्कुलमा पुरस्कार कोषका लागि दिए पहिलो महिनाको तलव

पोखरा, माघ १३ ।
कक्षामा पनि पहिलो । एसएलसी ब्याच पनि पहिलो । त्यसो त स्कुल नै पहिलो पटक मावि बनेको थियो । एसएलसी मा पहिलो ब्याचका रुपमा परीक्षा दिएका शिवको नतिजा पनि पहिलो नम्बरमा आयो ।

जुन स्कुलबाट पास आउट भए, उनै शिवले पहिलो जागिर खाए त्यही स्कुलमा फर्केर शिक्षकको रुपमा । करिब एक बर्ष अध्यापन गरेपछि उनी लोकसेवा तिर लागे । नभन्दै पहिलो प्रयासमै उनी सफल भए र सरकारको खरिदार पदमा यतिबेला वडा सचिवको रुपमा कार्यरत छन् ।

गोरखाको शहीद लखन गाउँपालिका ६ मा रहेको हिमालय माविमा अध्ययन अध्यापन गराएका शिव यतिबेला गोरखाकै भीमसेन थापा गाउँपालिकामा वडा सचिवको जिम्मेवारी सम्हालेर काम गरिरहेका छन् ।

उनले पहिलो महिनाको तलव हिमालय माविमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने गरी कोषमा राखिदिए । आफ्ना हजुरबुबा दुर्गालाल श्रेष्ठको नाममा उनले २५ हजार रुपैयाँको पुरस्कार कोष स्थापना गरिदिएका हुन् ।

‘विद्यालयले मलाई धेरै कुरा दिएको छ । मैले पनि केही दिनुपर्छ भन्ने धारणा बन्यो, उनले भने–मनमा धेरै कुरा खेले तर पुरस्कार कोष खडा गरौं भन्ने लागेर २५ हजार रुपैयाँ जम्मा गरिदिएँ ।’ विद्यालयको ५८ औं बार्षिकोत्सवको अवसरमा उनलाई शिक्षकबाट विदाई समेत गरिएको छ । गाउँपालिका अध्यक्ष रमेश थापाले सम्मानपत्र र दोसल्ला लगाएर उनलाई विदाई गरे ।