श्रेया हत्याकाण्ड–त्यो कुकुर, जसले घुमाई घुमाई कुशुमलाई फन्दामा पार्यो !

प्रकाश ढकाल
पोखरा, असोज ११ ।
पोखराको पुम्दीभुम्दीमा मंगलबार मृत भेटिएकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ । छिमेकी कुशुम पौडेलले चक्लेट किन्ने पैसा दिएर उनको बलात्कार गरेको तथ्य खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्या आरोपी पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले पत्रकार सम्मेलनमै बलत्कार पछि हत्या गरेको स्विकार गरेका छन् । ‘हो मैले नै बलात्कार गरेर हत्या गरेको हुँ–कुशुमले भने ।’ घटनाको १३ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । कुशुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका श्रोतले जनायो ।

सोमबार साँझ हजुरआमासँग पैसा मागेर पसलमा विस्कुट किन्न गएकी श्रेया मंगलबार विहान मृत अबस्थामा फेला परेकी हुन् । शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएपछि प्रहरीले छिमेकीलाई घेरामा राखेर अनुसन्धान थाल्यो । सुरुमा कुकुरले पनि कुशुमलाई छोडेर अर्कै बाटो लाग्यो । कुशुम त्यसपछि खुशी भए । तर उनको खुशी एकछिन पनि अडिन पाएन ।

कुकुरले नै कुशुमलाई अपराधी ठहर गरिदियो । ‘सुरुमा त कुकुर म अघिल्लो दिन गएको बाटोतिर गयो । मलाई खुशी पनि लाग्यो, कुशुमले भनेका छन्–तर पछि घुमेर मैतिर आयो । प्रहरीले पनि शंका गर्न थालेपछि मैले घटना स्विकारेको हुँ ।’ केही छिमेकीहरुलाई नियन्त्रणमा लिएर केरकार गर्दै जाँदा कुशुमले हत्या स्विकार गरेका हुन् । घटनामा कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङ, वडा प्रहरी कार्यालयका प्रमुख डिएसपी नवीन कार्की र जनियर अधिकृत सहितको टोलिले अनुसन्धान गरेको थियो ।

यसरी भयो घटना !

बाबुले छोडेपछि श्रेया र उनकी आमा मामाघरमै बस्थे । नजिकैको लिला आधारभुत स्कुलमा ३ कक्षा पढ्ने उनी सोमबार स्कुलबाट फर्किईन् । घर आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर उनी पसल गईन्, जहाँ गाउँका धेरैले रक्सी पिउने ठाउँ पनि हो । त्यसैले पसलमा साँझपख धेरै भीडभाड हुन्छ । सोही पसलमा दिउँसो रक्सी टन्न पिएर बाँकी रक्सी बोकेर कुशुम साथीहरुसँग गाउँमाथी डाँडामा गए । सबैजना सँगै बसेर रक्सी दिनभरी पिए । साँझ सवा ६ बजेतिर कुशुम चुरोट किन्न पसल झरे । सोही क्रममा उनले श्रेयालाई देखे ।

कुशुमले श्रेयालाई आफुँतिर बोलाए । त्यसपछि ५ रुपैयाँ दिए । श्रेया फुरुगं भईन् । १० मिटर तल झरेपछि फेरि १० रुपैयाँ दिएर श्रेयालाई समाते । श्रेया चिच्याईन् । श्रेयाले प्रतिकार गर्न खोजेपछि कुशुमले उनलाई झाडीमा हुत्याईदिए । झाडीमा कपडा खोलेर जवरजस्ती गर्न खोजेपछि श्रेया झनै ठूलो स्वरमा कराईन् । कुशुमले श्रेयाको घाँटी पनि थिचिदिए र जवरजस्ती बलात्कार गरे ।

त्यतिबेलासम्म श्रेया बेहोस भैसकेकी थिईन् । कुशुमले नजिकैको ढुंगा उठाए र श्रेयाको अनुहार, टाउकोमा बजारे । श्रेयाको हत्या भएपछि उनी मुल सडकमा निस्किए । पानीको मुलमा हातखुट्टा पखाले र खाजाघरमा बसेर चुरोट पिए । कुशुमकी श्रीमति दुध किन्न आउँदा देखेपछि दुवैजना सँगै घर गए । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोएर सुकाएको तथ्य प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ ।
केहीबेरपछि श्रेयाको खोजी सुरु भयो । राती अवेरसम्म पनि नभेटिएपछि मनमा चिन्ता लिएर परिवारले रात कटाए । बिहान स्थानीय तुलसीप्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो ।

झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबाले नै प्रहरीलाई खवर पु¥याएका हुन् । मंगलबार विहान ८ बजेतिर मात्रै शव भेटिएको जानकारी पाएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले बताए । घटना भएको थाहा पाउने वित्तिकै उनकै कमाण्डमा प्रहरीको टोलि घटना स्थल पुगेर अनुसन्धान थालेको थियो ।

बलात्कारपछिको हत्या आशंकामा स्थानीयको दावी बढेपछि प्रहरीले पोष्टमार्टम रिपोर्टका लागि स्वतन्त्र डाक्टरलाई निकाल्न लगाउने आश्वासन दिएर शव अस्पताल पु¥याईएको हो । पोष्टमार्टममा संलग्न डाक्टरहरुले श्रेयाको बलात्कार भएको रिपोर्ट प्रहरीलाई दिए । यसअघि शंका मात्रै गरिएको घटनामा बलात्कारको पुष्टी भयो ।

हत्या आरोपमा पक्राउ परेका पोखरा २२ पुम्दीभुम्दीका कुशुम श्रीमति र छोरासँग बस्छन् । आमाबाबु र परिवारसँग उनी अलग्गै बस्दै आएका थिए । लामो समय बैदेशिक रोजगारीमा गएर फर्केका उनी डेढबर्षदेखि घरमै बसेका छन् । कहिलेकाहीँ कन्स्ट्रक्सन लेवरको रुपमा काम गर्दै आएका छन् । केही समयअघि पनि श्रीमतिले छोराको पढाईका लागि लिएको ५० हजार रुपैयाँ ऋणको पैसा लिएर उनी बेपत्ता भएका थिए ।

स्थानीयको दवाव

बालिकाको बलात्कार पछि हत्या भएको भन्दै पुम्दीभुम्दी र पोखराका पनि सर्वसाधारणले स्वःस्फुर्त रुपमा बुधबार जुलुश निकाले । उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमामा दवाव स्वरुप नाराबाजी गरेका थिए । कोदीबाटै जुलुश सहित आएका उनीहरुले हत्यारालाई फाँसीको माग गरे । उनीहरु जिल्ला प्रशासन कार्यालयमा एक घण्टासम्म धर्ना बसेका थिए ।

घटना जघन्य भएकोले दोषीलाई कडा कारबाही हुने कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए । कुशुमलाई कर्तब्य ज्यान मुद्धा दर्ता भएको छ । मुलुकी अपराध संहितामा बलात्कारपछि हत्या गर्ने अपराधीलाई जीवित रहँदासम्म (आजीवन) कैद सजाएँ हुने ब्यवस्था छ । कुशुमको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढिसकेको एसपी रानाले जानकारी दिए ।