श्रृंखला खतिवडाले भनिन्-मलाई माफ गरिदिनुहोला

काठमाण्डौं, मंसिर १६ ।
यतिबेला श्रृंखला खतिवडाको चर्चा अन्तराष्ट्रिय रुपमै चलिरहेको छ । मिस नेपाल २०१८ की विजेता श्रृंखला अहिले मिस वल्र्डको प्रतिस्पर्धाको लागि चीनमा छिन् । उनलाई लिएर धेरै नेपालीहरू आशावादी छन् ।

उनलाई समर्थन गर्नेहरूको जमात निकै ठूलो छ । तर शनिबार राति भएको ’हेड टु हेड’मा श्रृंखला पराजित भइन् । उनी सिंगापुरकी भेनिसा पेहसँग पराजित भएकी थिइन् । हेड टु हेडमा पराजित भए पनि उनको मिस वर्ल्डको यात्रा रोकिएको छैन । उनको टप ३० मा पर्ने सम्भावना अझै छ । टप ३० मा जाने मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पजमा भने श्रृंखलाको सम्भावना बलियो देखिन्छ ।

हेड टु हेड च्यालेन्ज हारेपछि श्रृंखला ’फेसबुक लाइभ’मा आएर आफ्नो समर्थकहरूसँग माफी मागेकी छिन् । उनले भनेकी छिन्, ’मलाई पनि अवस्य मन थियो कि हेड टु हेड जितेर नेपाललाई टप ३० मा पुर्याउँ । तर हिजो साह्रै दुःख पनि लाग्यो कि यस्तो सपोर्ट पाउँदा पनि मैले तपाइहरूको अपेक्षा पूरा गर्न सकिनँ ।

म सरी भन्न चाहान्छु ।’ आफूले उक्त हेड टु हेड च्यालेन्ज हार्नुको कारण पनि उनले फेसबुक लाइभमा बोलेकी छिन् । उनले भनेकी छिन्, ’हामीलाई ब्रिफिङमा चाहिँ आफ्नो प्रोजेक्ट प्रस्तुत नगर्नुहोला । यो प्रस्तुति शैलीबारे मात्रै हो भनिएको थियो ।

मैले त्यही ब्रिफिङ फलो गरेँ । साढे एक मिनेट मात्रै समय थियो । टाइम लिमिटले नै धोका दिने हो कि भनेर मैले एकदम धेरै पूर्वतयारी गरेकी थिएँ । सायद धेरै तयारी पनि भयो कि के भयो, बीचमा बोल्दाबोल्दै एक–दुई लाइनचाहिँ भन्न छुटेको रहेछ । सायद त्यो कनेक्ट भएन ।

मैले आफै पनि युट्युबमा भिडियो हेर्दा त्यति कनेक्टेड भएको पाइन ।’ श्रृंखलाले भोट गरेर समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । आफू टप ३० मा पर्ने कुरामा आशावादी रहेको पनि बताएकी छिन् । ’हेड टु हेड जित्न सकिन, तर १७ वटा स्पोट अझै खाली छ । तपाईहरू हार नमान्नुहोला । आशा छ म टप ३० मा पर्नेछु ।’