श्रीमानले घरबाट निकालिदिएपछि ७० बर्षे बृद्धाको बाख्राको खोरमा बास

गोरखा, साउन १९ ।
गोरखा नगरपालिका ४ फिनामकी रुपा परियारलाई श्रीमान्ले घरबाट निकालिदिएपछि अहिले बाख्राको खोरमा बस्न थालेकी छिन् । ७० बर्षिया रुपालाई श्रीमान् नेप्टे परियारले निकालिदिएका हुन् । ‘बुढासँगै बसिरहेकी थिएँ । मलाई तँ यहाँ नबस् भन्दै निकालिदिए’, गहभरी आँशु लिएर रुपाले भनिन्–अहिले यै झुप्रोमा छु । यैपनि ढल्न लाग्यो ।’

भुकम्पले थर्काएको टहरोमुनि रुपाको बास छ । उनीसँगै बाख्रा सुत्छन् । बुढेसकालमा घरबाट निकालिएपछि उनी निकै चिन्तित छिन् । रुपा बसेको झुप्रोको छानाबाट सीधै अगेनामा पानी चुहिन्छ ।

श्रीमान् नेप्टे रूपालाई देखिसहँदैनन् । नेप्टे पनि उमेरले ८० कटिसके । उमेर ढल्किसकेका यी दम्पतिको एउटै घरमा दुईवटा चुल्हो छ । गाँस नसाँटेको महिनौ भैसक्यो । ‘आआफ्नो चुल्हो छ’, नेप्टेले भने–‘म मेरै सुरले पकाउँछु, खान्छु । ऊ उसकै सुरले खान्छे ।’