श्रीमतिलाई जबर्जस्ती गरे ५ वर्ष जेल

काठमाडौं, साउन २९ ।
भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ । पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ ।

नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको समाचार आजको नागरिक दैनिकमा छ ।

जबर्जस्ती करणीका दोषीलाई हाल कार्यान्वयनमा रहेको मुलुकी ऐनको तुलनामा दोब्बर सजाय हुने व्यवस्था नयाँ संहितामा छ । कानुनमा पीडित बालिका र महिलाको उमेर हेरिकन अपराधीलाई सजायको व्यवस्था गरिएको छ ।

बलात्कारमा संलग्नलाई ७ वर्ष देखि २० वर्षसम्मको जेल सजाय हुन्छ । सामूहिक रुपमा जबर्जस्ती करणी गरेमा अपराधीलाई थप पाँच वर्ष सजाय हुन्छ ।