शेयर सदस्य महिलालाई संचार सहकारीको तीज उपहार

 

पोखर, भदौ ६ ।

संचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य महिलाहरुलाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले शेयर सदस्य महिलालाई उक्त उपहार प्रदान गरेका हुन् ।

अध्यक्ष ढुंगानाले हरेक पर्व हरुको आफ्नै धार्मिक, सांस्कृतिक सामाजिक एवं ऐतिहासिक महत्व हुने भन्दै पर्वलाई सामाजिक सद्भावसँग जोड्नु पर्ने बताए । उनले शेयर सदस्य महिलाहरुलाई उद्यमी बन्न प्रोत्साहन गर्दै उद्यमी कर्जामा कम ब्याजमा ऋण लगानी र नारी बचतमा बढि ब्याज दिएर महिला शेयर सदस्यलाई प्राथमिकता दिएको बताए । संस्थामा कुल २ सय ४८ शेयर सदस्य रहेकोमा महिला शेयर सदस्य ८४ रहेको जानकारी दिए ।

संस्थाका सचिव एवं प्रवन्धक पवित्रराज तिवारीले गतवर्ष देखि महिला शेयर सदस्यहरुलाई तीज उपहार प्रदान गर्दै एक अर्कामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको जानकारी दिए ।
संस्थाका कार्यसमिति सदस्य जमुना वर्षा शर्माले संस्थाले तीजको अवसरमा महिला शेयर सदस्यलाई उपहार प्रदान गरेर पर्वलाई सामाजिक सद्भाव र आत्मियता एवं भाइचारा वृद्धि गर्न सफल भएको बताइन् । तीज हरेक महिलाको साझा एवं स्वतन्त्रताको पर्व भएकाले यसका सकारात्मक पक्षहरुलाई ग्रहण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रम संयोजक विनिता के.सी खतिवडाले शेयर सदस्य महिलाबीचको आत्मियता अझै प्रगाढ गराउन संस्थाले तीज उपहार कार्यक्रम गरेको जानाकारी दिइन् । उनले संस्थाका ८४ जना महिला शेयर सदस्यलाई सल, कपालबाट्ने डोरी र टीका प्रदान गरेको बताइन् ।

शेयर सदस्य पवित्र थापाले उपहार ग्रहण गर्दै यस उपहारले महिलाको सम्मान र पर्वको महत्वलाई उजागार गरेको भन्दै संस्थाप्रति आभार व्यक्त गरिन् ।