शहीद लखनको बजेट ६० करोड–अधिकांश बजेट अवण्डा, साढे ६ करोड तलव भत्तामा

पोखरा, असार १० ।
गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षका लागि करिब ६० करोड रुपैयाँको बजेट प्रश्तुत गरेको छ । सोमबार गाउँसभामा ५९ करोड ६२ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । जसमध्ये चालु खर्च तर्फ ३५ करोड १२ लाख र पूँजीगततर्फ २४ करोड ४७ लाख रुपैयाँ छ ।

गाउँपालिकालाई संघ सरकारले वित्तिय समानीकरण शीर्षकमा १४ करोड ६९ लाख रुपैयाँ, सशर्त अनुदान १७ करोड ५० लाख, राजश्व बाँडफाँटबाट ८ करोड २९ लाख गरी ४० करोड ४८ लाख रुपैयाँ उपलब्ध गराएको छ भने गण्डकी प्रदेश सरकारले वित्तीय समानीकरणमा १ करोड ४० लाख, सशर्त अनुदान १ करोड तथा राजश्व बाँडफाँटबाट ३८ लाख ८८ हजार गरी २ करोड ६१ लाख रुपैयाँ दिएको छ ।

यस्तै, १ करोड ४२ लाख रुपैयाँ आन्तरिक आम्दानी, ३ करोड १६ लाख रुपैयाँ चालू बर्षबाट अख्तियारी सारेर लैजाने तयारी छ भने सडक बोर्डको कच्ची सडक मर्मत १२ लाख, कृषि मूल्य श्रृंखला कार्यक्रमको १२ लाख तथा विद्युत रोयल्टीबाट ७० लाख रुपैयाँ प्राप्त हुने गाउँपालिकाले जनाएको छ ।

अनुमानित बजेटमध्ये अधिकांश रकम अबण्डा राखिएको छ । योजना नछुट्याई शीर्षकगत रुपमा बजेट राखिएको हो । जसमध्ये आर्थिक विकासमा २ करोड ६ लाख, कृषि विकासमा ५८ लाख, पशुमा ४४ लाख, पर्यटन क्षेत्रको विकासका लागि १ करोड ४ लाख, सामाजिक क्षेत्रमा ४ करोड २६ लाख, सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धनका लागि २९ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, लक्षित समुदालयका लागि ५४ लाख, खानेपानी तथा सरसफाईमा ७३ लाख, शिक्षा विकासको लागि ९० लाख, सामाजिक विकासको लागि १ करोड ३१ लाख रुपैयाँ छुट्याईएको छ ।

गाउँपालिकाको पूर्वाधार विकासमा १५ करोड ४० लाख छ भने मनकामनामा सोलार बत्ति राख्न १७ लाख, सिञ्चाईका लागि ४ लाख, गाउँपालिका र वडा भवनहरु बनाउन ४ करोड ८ लाख, गाउँपालिकाको मुख्य सडक स्तरोन्नती र गाउँ स्तरीय सडक विस्तार गर्न ७ करोड ८८ लाख, प्रदेश र संघ सरकारसँग साझेदारीमा कार्यक्रम गर्न ३ करोड २३ लाख, वन तथा वातावरण र विपद् ब्यवस्थापनमा ५३ लाख, विपद् ब्यवस्थापन कोषमा ३७ लाख, मनकामना बजारको फोहोर ब्यवस्थापन गर्न ९ लाख, भू–संरक्षणका लागि ७ लाख र कार्यालयको सेवा प्रवाहमा २ करोड २३ लाख छुट्याईएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीको तलव भत्ता तथा सुविधाका लागि २ करोड ४४ लाख, पदाधिकारीको मासिक सुविधा तथा अन्य सुविधाका लागि १ करोड ६ लाख, कार्यालय सञ्चालनका लागि १ करोड ९७ लाख, कृषि विकास कार्यक्रमको कर्मचारीको तलव र भत्तामा १६ लाख, पशुसेवाका कर्मचारीलाई १५ लाख ९१ हजार, स्वास्थ्यका कर्मचारीलाई ३८ लाख १२ हजार, सामुदायिक सिकाई केन्द्रका सामाजिक परिचालक र विद्यालय सहयोगकीका लागि ३८ लाख १२ हजार खर्च छुट्याईएको छ ।

संघ सरकारले सशर्त अनुदानमा उपलब्ध गराएको १७ करोड ५० लाख र सामाजिक सुरक्षा भत्तामा ११ करोड रुपैयाँ खर्च हुने गाउँपालिका अध्यक्ष रमेश थापाले बताए ।