शपथमा ईश्वरको नाम ‘स्किप’, शहीद र जनता सम्झिए मन्त्रीले

पोखरा, फागुन ५ ।
प्रदेश नम्बर ४ अन्तर्गत शुक्रबार शपथ लिएका सभामुख र मन्त्रीले ईश्वरलाई स्किप गरेर अरु शब्द उच्चारण गरे । प्रदेश प्रमुखले शपथका बेला ईश्वरको नाम लिएपछि सभामुख र मुख्यमन्त्रीले त्यसलाई स्किप गरिदिए र बाँकी शब्द मात्रै उच्चारण गरे । उच्चारण गर्नुपर्ने बाक्य यस्तो थियो–म…..मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठा पूर्व प्रतिज्ञा गर्दछु, ‘ईश्वर’को नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही प्रदेश ४ को …..पदको कामकाज प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पुर्वाग्रह वा खराव भावना नलिई, पदीय गोपनियता कायम राखि ईमान्दारिता साथ गर्नेछु । …….’
मन्त्रीहरुले चाहीँ ईश्वर शब्दमा आफ्नै भावना अनुसारका शब्द प्रयोग गरे । मन्त्री रामशरण बस्नेतले ईश्वर छाडेर देश र जनता उच्चारण गरे भने माओवादीतर्फका दुई मन्त्री हरिबहादुर चुमान र लेखबहादुर थापाले शहीदको नाममा शपथ लिए ।