वैशाख पूर्णिामामा उर्गेन छ्योलिङ्ग गुम्बाको बुद्ध पूजा

पोखरा, वैशाख १० ।

२५६२ औँ वैशाख पूर्णिमाको अवसरमा उर्गेन छ्योलिङ्ग बौद्धिष्ट गुम्बामा २५६२ औँ बुद्ध जयन्ती विशेष समारोहको आयोजना हुने भएको छ । उर्गेन छ्योलिङ्ग बौद्धिष्ट गुम्बा तथा उडियाना आध्यात्मिक ध्यानकेन्द्रको संयुक्त आयोजनामा वैशाख १७ र १८ गते बुद्ध जयन्ती विशेष समारोहको आयोजना गरिने सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

डिहिकोपाटन लेकसाइडमा रहेको गुम्बामा आयोजना हुने कार्यक्रममा वैशाख १७ गते विहान ७ गतेदेखि १०ः३० बजेसम्म बुद्ध पूजा, १०ः३० देखि ११ बजेसम्म बुद्ध साधना, ११ बजेदेखि ११ः४५ बजेसम्म उर्गेन जनकल्याण अभियानको उद्घाटन, ११ः४५ बजे दीप प्रज्वलन गरिने र १२ बजे शाकाहारी भोजन तथा प्रसाद ग्रहण कार्यक्रम रहेको छ ।

त्यस्तै वैशाख १८ गते विहान ८ बजेदेखि रेकी साधना हुने गुम्बा लामा अशोक गुरुङले जानकारी दिए । योगी ओमले प्रशिक्षण दिने रेकी साधनाबाट सम्पूर्ण शारीरिक तथा मानसिक रोगहरुलाई विना औषधि २१ दिन मै निर्मूल बनाउन सकिने योगी ओमको दाबी छ ।

२५६२ औँ बुद्ध जयन्तीको पावन अवसरमा वैशाख १७ र १८ गते उर्गेन जनकल्याण अभियानद्धारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने पनि गुम्बाले जनाएको छ । आगामी दिनमा विभिन्न सामाजिक काम र जनकल्याणका कार्यक्रमहरु गर्दै जाने गुम्बाले जनाएको छ ।