वैद्य भन्छन्–एमाले, माओबादी एकता अवसरवादीहरुको मिलन

काठमाडौं, असोज १७ ।
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गरेका छन् ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी अवसरवादीहरुको मिलन भनी बैद्यले टिप्पणी गरे ।
‘यो एकता विचित्र खालको छ,’ उनले भने, ‘यो दक्षिणपन्थी अवसरवादीहरुको मिलन हो ।’ माओवादी केन्द्रले क्रान्तिकारी बाटो पूरै छोडेर प्रतिक्रियावादी बनेको पनि वैद्यले आरोप लगाए ।
‘क्रान्तिकारी ध्रुवीकरण अब तीब्र बनाउनुपर्छ’, उनले भने, ‘ क्रान्तिकारीको ध्रुवीकरण आजको तत्कालको आवश्यकता बनेर गएको छ ।’ अब एमाले र माओवादी केन्द्र मिलिसकेपछि पार्टीको नाम माओवादी र एमाले राख्नुको कुनै अर्थ नहुने पनि वैद्यको भनाई थियो ।