वेब पोर्टल र मोबाइल एप बनाउँदै महानगर

पोखरा, असार ५ ।
पोखरा लेखनाथ महानगरपालिकाले विभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँदै छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक गर्ने तयारीमा महानगरपालिका रहेको सूचना अधिकृत प्राविधिक शर्मिलाले गौतमले जानकारी दिइन् ।

वेब पोर्टल र मोबाइल एपमा विभिन्न १० विषयमा ३८ थरी सूचना राखिएको काठमाडौं लिभिङ ल्याब्सका गौरव थापाले बताए । १० वटा विषय शिक्षा, स्वास्थ्य, पर्यटन, सुरक्षा, वित्तिय संस्था, सरकारी निकाय, खानेपाी, विद्युत, सञ्चार तथा धार्मिक लगायतका विषय समेटिएको छ । सबै महत्वपूर्ण सूचनाहरु समेटिएको छ । यसले आगामी दिनमा महानगरपालिाले बनाउने नीति तथा कार्यक्रम अझ प्रभावकारी हुने विश्वास समेत महानगरपालिका कर्मचारीले बताएका छन् । वडामा मानवीय सरोकार राख्ने सुक्ष्म विषय बस्तुलाई समेत समेटिएको छ ।

‘प्रत्येक वडामा हुने स्वास्थ्य, शिक्षासँगै प्रहरी कार्यालय सबै विषयमा जानकारी राखिन्छ ।’ गौतमले भनिन–‘अत्यावश्यक सेवाहरुलाई समावेश गरिएको छ ।’ कुन वडामा कति विद्यालय, अस्पताल छन् वा पोखरामा कति पर्यटक स्तरमा होटल छन् त्यो पनि वेब पोर्टल र मोबाइल एपबाट हेर्न सकिने छ । निकट भविष्यमा पर्यटकीय गन्तव्यलाई समेत समावेश गर्ने जनाइएको छ ।

पोखरा भित्रको हरेक क्षेत्रको जानकारी इन्टरनेटमार्फत् सजिलै रुपमा सबैले थाहा पाउन सकिनु भनेर वेब पोर्टल र मोबाइल एप महानगरपालिकाले तयार गरेको हो । पोखरालाई प्रविधि मैत्री बनाउने मेयर मानबहादुर जिसीको घोषणा अनुरुप प्रविधि प्रयोग गरेर सूचना र जानकारी उपलब्ध गराउन वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । पोर्टल र मोबाइल एपमा वडाको समेत जानकारी पाउन सकिनेछ ।

‘तथ्यांकहरु संकलन गरी हालिदैं छ ।’ उनले भनिन ‘सार्वजनिक गर्ने अन्तिम तयारी भईरहेको छ ।’ शिक्षा अन्तर्गत जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालयसँगै उच्च माध्यमिक शिक्षा परिषद र सरकारी एवं निजी विद्यालयको तथ्यांक समावेश गरिएको छ । आगामी दिनमा विद्यालयको विद्यार्थी संख्या समेत राखेर अझ प्रभावकारी बनाउने योजना महानगरपालिकाले लिएको छ ।
महानगरपालिकाका ३३ वटै वडाभित्र रहेका कार्यालय, विद्यालय मात्रै नभई स्वास्थ्य सेवा समेत वेभ पोर्टलमा समावेश गरिएको छ । तिनीहरुको लोकेसन(ठाँउ) समेत उलेख गरिएको छ । मोवाईल एप निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकलाई पोखराको बारेमा जानकारी पाउन निकै सहज हुने विश्वास गरिएको छ ।