विहिबार गण्डकी अञ्चलभरी गाडी नचल्ने

पोखरा, पुस २६ ।
ट्याक्सी ब्यवसायीको आन्दोलनलाई लिएर यातायात ब्यवसायीहरुले विहिबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी नचलाउने भएका छन् । मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेपछि बुधबार विहानै ब्यवसायीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै ब्यवसायीहरुले विहिबार गाडी बन्द गर्ने निर्णय गरेका हुन् ।
ट्याक्सी ब्यवसायीको आन्दोलनलाई यातायात ब्यवसायीहरुले पनि समर्थन गरेका छन् । ट्याक्सी व्यवसायीको समर्थन र प्रहरी कारवाहीको बिरुद्धमा पोखराका बस ब्यवसायी पनि आन्दोलित भएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पनि मातहतका गाडी नचलाउने निर्णय गरेको महासचिव योगेन्द्र केसीले जानकारी दिए । साथै गण्डकी अञ्चलभर कुनैपनि सार्वजनिक गाडी सञ्चालन नगर्ने नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघको निर्णय अनुसार विहिवार गण्डकी अञ्चलभर कुनैपनि सर्वजनिक सवारी साधन चल्नेछैन ।