विष्णु माझीको खोजीमा सरकारी चासो–पोखरामा भेटियो विवाहदर्ता, दुई छोरा भएको खुलासा

पोखरा, पुस २० ।
नेपाली लोकगीतकी सदावहार गायीका बिष्णु माझी लामो समयदेखि अघोषित भूमिगत जीवन बिताईरहेकी छिन् । पहिले देखि नै उनलाई श्रीमानले बन्धक बनाएर राखेको आरोप छ । यद्यपी यसको प्रमाण भने खुलिसकेको छैन ।

अहिले जिल्ला प्रशासन कार्यालय स्याङजाले उनको खोजी सुरु गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको बताए ।

प्रजिअ निरौलाले विष्णुका माइती र घर पक्षसँग बुझ्ने काम भइरहेको बताए । विष्णु काठमाण्डौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान थालेको बुझिएको छ । बिष्णुको जन्म स्याङजा चापाकोट स्थित खोरियाघाटमा जन्मिएकी हुन् ।

जुम्ल्याहा छोरा, कास्कीबाट विवाहदर्ता

विष्णुको समाचार प्रकाशित भएपछि उनका श्रीमान सुन्दरमणिको पोखरास्थित गाउँका एक छिमेकीले विष्णु र सुन्दरमणिका जुम्ल्याहा छोरा भएको जानकारी दिएका छन् । ‘उहाँहरु हरेक वर्ष दशैं मान्न गाउँ आउनुहुन्छ,’ उनले भने, ‘छोराहरुसहित दुबैजना हाँसीखुशी नै देखिनुहुन्छ ।’

०७२ सालमा भूकम्प आएको ताका विष्णुले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । सुत्केरी भएपछि विष्णु र उनका श्रीमान एक महिना गाउँमै बसेका थिए । सुन्दरमणिका छिमेकीले गाउँ र छरछिमेकमा सुन्दरमणिको राम्रै छवि भएको बताएका छन् ।

‘बाहिर उहाँको बारेमा चलेका हल्लाहरु हामीलाई पनि थाहा छ । तर, हामीले जहाँसम्म चिनेका छौं, उहाँ असल व्यक्ति हुनुहुन्छ । गाउँवासीहरुसँग उहाँको राम्रो सम्वन्ध छ ।’ उनले भने । गाउँमा आउँदा सुन्दरमणि छोराहरु लिएर छरछिमेकमा निस्किने भए पनि विष्णु भने घरबाट खासै ननिस्किने उनी बताउँछन् ।

‘खोइ के कारणले हो, विष्णुजी गाउँमा आउँदा पनि घरबाहिर खासै निस्किनु हुन्न । उहाँकै स्वभाव हो कि अरु केही वाध्यता भन्ने चाहिँ रहस्यकै विषय छ,’ उनले भने । उनले सञ्चारमाध्यममा प्रश्न उठिसकेपछि विष्णु र सुन्दरमणिले जवाफ दिनुपर्ने बताए । अन्यथा सुन्दरमणिप्रति शंका झन् प्रबल बन्ने उनको भनाइ छ ।

अन्तरजातीय बिहे भए पनि सुन्दरमणिको परिवारमा त्यसले कुनै समस्या ननिम्त्याएको छिमेकीले बताएका छन् । सुन्दरमणिको परिवार जातपातको विषयमा रुढिवादी नभएको समेत उनको भनाइ छ । ‘उहाँहरुले पोखरा लेकसाइडको एक मन्दिरमा सानो जमघटमा बिहे गर्नुभयो । तर, गाउँमा भने सुन्दरमणिको परिवारले बकाइदा खसी काटेर भोज खुवाएका थिए । बिहेपछि पनि सुन्दरमणिको परिवारले विष्णुलाई अवहेलना गरेको कुनै संकेत पाएका छैनौं,’ उनले भने ।

कास्कीको साविक लेखनाथ नगरपालिकास्थित गाउँमा पुख्र्यौली घर छ । बाबुको मृत्यु भएपछि गाउँमा रहेको काठको घरमा अहिले सुन्दरमणिकी आमा मात्रै बस्छिन् । सुन्दरमणिका दुई जुम्ल्याहा भाइमध्ये एक भाई वैदेशिक रोजगारीमा छन् ।

विष्णु र सुन्दरमणी बीच २०६८ साल मंसिर २९ गते विवाह भएको थियो । एकबर्षपछि २०६९ मंसिर ५ गते हाल पोखरा ३१ साविक लेखनाथ ९ बाट उनीहरुको विवाहदर्ता भएको प्रमाणपत्र छ । विष्णुले केही बर्षअघि ससुराको निधन भएपछि सुन्दरमणीकै साथ लागेर ससुराको किरिया बसेकी थिईन् ।

करिब १३ वर्षदेखि संगीतमा सक्रिय विष्णु अहिलेसम्म सार्वजनिक कार्यक्रम र मिडियामा देखिएकी छैनन् । उनको वर्षौंदेखि एउटा मात्रै फोटो चल्तीमा छ । विष्णुले मोबाइलसमेत नबोक्ने उनलाई चिन्नेहरु बताउँछन् । विष्णु लोक दोहारी गायनमा अहिलेकी नम्बर एक मानिन्छिन् । उनको पछिल्लो गीत ‘सालको पात टपरी हुने एबरै‘’ अहिले अत्यधिक हिट छ ।

बिष्णु नेपालमा हालसम्मकै सबैभन्दा महंगी गायीका भएको उनीसँग संगत गर्नेहरु बताउँछन् । श्रोतका अनुसार एउटै गीत रेकर्ड गराउँदा विष्णुले ५० हजार रुपैयाँ लिन्छिन् ।