विश्वकप छनोटका सुरुवाती ५ खेल नेपालले घरेलु मैदानमा नखेल्ने
काठमाडौं, साउन १५ ।
विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएका हुन् ।
जसका कारण कुवेतलाई फाइदा हुने भएको छ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउने छ ।
नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गरेको छ ।
एएफसीले हालै सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भदौ १९ मा कुवेतसँग र २४ मा चाइनिज ताइपेईसँग आफ्नै घरेलु मैदानमा खेल्नुपर्छ । तर दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले दुबै खेललाई अवेमा रुपान्तरण गर्न आग्रह गर्ने एन्फाको निर्णय छ ।
त्यसपछि अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा २३ असोजमा खेल्नुपर्नेछ । २८ असोजमा हुने जोर्डनसँग होम खेल खेल्नु पर्ने हो । यसलाई अवेमा रुपान्तरण गर्न आग्रह गरिएको छ ।
मंसिर ३ मा कुवेतसँग अर्को खेल छ । १९ भदौको होमलाई अवेमा रुपान्तरण गर्दा यो खेल नेपालमा हुनुपर्ने हो ।
तर त्यसबेलासम्म पनि रंगशाला तयार नहुने भएकाले यो खेल पनि कुवेतमा नै हुने जनाइएको छ । विश्वकप छनोटमा नेपालले कुवेतसँगको दुबै खेल उसकै घरेलु मैदानमा खेल्ने छ ।
यसपछिका तीन खेल भने नेपालमा हुनेछ । एसीसीको तालिकाअनुसार नेपालले १३ चैतमा चाइनिज ताइपेईसँग खेल्नेछ ।
१८ चैतमा अष्ट्रेलियाले नेपालसँग काठमाडौंमा खेल्नेछ भने २२ जेठमा जोर्डनसँग होम म्याच खेल्नेछ । (अनलाइनखबरबाट साभार)