विशाल सुनचाँदी दुकानद्वारा सिद्ध माविलाई रु ५१ हजार ५ सय ५५ सहयोग

 

पोखरा, फागुन १४ ।

विशाल सुनचाँदी दुकान रामबजारका प्रोपाइटर डिल्लीराम विश्वकर्माले स्वर्गीय श्रीमती तुलसी विश्वकर्माको स्मृतिमा पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई रकम सहयोग गरेका छन् ।

अक्षयकोष स्थापनार्थ रु. ५१ हजार ५ सय ५५ नगद विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालालाई प्रदान गर्दै विश्वकर्माले शैक्षिक उन्नयन र विद्यार्थीको हितका लागि सहयोग गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको एकमात्र सामुदायिक विद्यालय सिद्ध माविमा निम्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने र उनीहरुको शैक्षिक प्रगतिका लागि विद्यालय प्रशासन मात्र नभई वडा नम्बर १५ पनि लागी परेको बताए । समाजका सहयोगी एवं समाजसेवीहरुको सहयोगद्वारा स्थापित अक्षयकोषको मूलधन खर्च नगरी व्याजबाट आएको रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री, खाजा, लत्ता कपडाजस्ता आवश्यकतानुसार खर्च गरिने पौडेलले बताए ।

विश्वकर्मा परिवारको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सहयोग प्रदान गर्नुभएकोमा प्रधानाध्यापक कोइरालाले धन्यवाद समेत दिएका थिए । सो अवसरमा कोइरालाले हालसम्म १८ लाख ४७ हजार संकलन भएको पनि जानकारी गराए ।

कार्यक्रममा अक्षयकोष स्थापनाकर्ता एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिवबहादुर बानियाँ, वडा सदस्य पार्वती कार्कीलगायतको सहभागिता रहेको थियो ।