विवेकशील साझा पार्टीको कार्यक्रममै भाँडभैलो, कार्यकर्ताबीच हात हालाहाल

काठमाण्डौं, साउन १९ ।
शनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ । प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो ।

पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाए । नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट गरेको उनीहरुको आरोप छ ।

असन्तुष्ट युवा समूहले जिल्ला संयोजक लोकतान्त्रिक पद्धतिबाट चयन गर्नुपर्नेमा जोड दिएका थिए । होहल्ला हात हालाहालको अवस्थामा पुगेपछि प्रवक्ता डा. सूर्यराज आचार्यले कार्यकर्तालाई सम्झाउने प्रयास गरेपनि तनाव साम्य भएन । पछि संयोजक रवीन्द्र मिश्रले मनोनित संयोजकलाई बधाई दिएर कार्यक्रम स्थगीत भएको घोषणा गरे । असन्तुष्ट पक्ष भने नाराबाजी गर्दै हलबाट बाहिरिए ।

शनिबार नै साझा पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । शनिबार पार्टी कार्यालय बखुण्डोलमा साझा पार्टीले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।

एक बर्ष अघि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्जल थापाको विवेकशील नेपाल पार्टीबीच एकता भएको थियो । साझा पार्टीले प्रदेश तीनको संयोजकमा समीक्षा बास्कोटालाई मनोनयन गरेको छ । उनलाई पार्टीका संयोजक मिश्रले माटोको टीका लगाएर पार्टीमा स्वागत गरे ।