विवाहमण्डपमै आएर बेहुलीमाथि चिर्पट हाने

विराटनगर, पुस ११ ।
विवाहमण्डपमै कुटपिट हुँदा अचेत बनेकी तेह्रथुम फेदाप गाउँपालिका ३ जलजलेकी २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वास्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ । उनी मण्डपमै बेहेस भएर ढलेकी थिइन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

लिम्बु परम्पराअनुसार विवाह हुँदै गर्दा सरोज लिम्बु लगायतले उनीमाथि आक्रमण गरेको थियो । उनले पाँचथरका सचिन लिम्बुसँग कात्तिकमा प्रेम विवाह गरेकी र अहिले लिम्बू परम्पराअनुसार ‘खुम्पा’ बुझाउने क्रम चल्दै थियो । लिम्बू समूहले पाहुनालाई अनादर गर्ने र होच्याउने गर्न थालेपछि विवाद सुरु भएको थियो ।