विवादित विज्ञ समूहबारे मन्त्री अधिकारीले भने–‘सुनिल शाक्यलाई मैले ल्याएको हैन’

पोखरा, असार ११ ।
विवादित विज्ञ समूहबारे पोखराबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीले प्रष्टीकरण दिएका छन् । विज्ञ समूहमा विवादित ब्यक्ति राखेको भन्दै पत्रकारले प्रश्न गरेपछि सुनिल शाक्यलाई आफुले नल्याएको बताएका छन् ।

फेवातालमा मापदण्डविपरित निर्माण गरिएको होटल वाटर फ्रन्टका संचालक सुनिल ‘विज्ञ समूह’ मा परेपछि मन्त्री अधिकारी आलोचित भएका छन् । सुनिल, चर्चित व्यवसायी तथा लेखक कर्ण शाक्यका छोरा तथा प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) का अध्यक्ष हुन् ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफूले सुनिललाई विज्ञ समूहबाट हटाउन खोजे पनि पाटामा अर्को अध्यक्ष नआएसम्म त्यो सम्भव नभएको बताए । ‘व्यक्ति छनौट मेरो हकको विषय हो, सुनिल शाक्यले पाटा (प्यासिफिक एसिया ट्राभल एसोसियसन) को अध्यक्षका रूपमा प्रतिनिधित्व गर्नुभएको हो, उहाँ पर्यटन प्रवद्र्धन विज्ञ हो’, अधिकारीले भने, ‘विज्ञ समूहले यहाँ (फेवाताल) को मापदण्ड बनाउने हैन, मैले पछि मात्र थाहा पाएँ, संस्थागत प्रतिनिधिलाई मैले राख्दिनँ भन्न मिलेन ।’

फेवातालको मापदण्डबारे सबै कुरा प्रष्ट रहेको र स्थानीय सरकारले पनि चासो देखाएको उल्लेख गर्दै मापदण्ड विपरीतका सबै संरचना हट्ने र यो वा त्यो भन्ने कुरै मन्त्री अधिकारीको भनाइ छ । आफू आलोचनाले विचलित नहुने भन्दै उनले सय दिनको कार्यकालमा सोचेभन्दा बढी काम गरेको दाबी पनि गरे ।