विप्लव समूह कास्कीका सेक्रेटरी सहित २१ जना प्रहरी नियन्त्रणमा

पोखरा, जेठ २५ ।
नेत्र विक्रम चन्द (विप्लव) समूहका कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश) सहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वडा नम्बर ११ बाट उनीहरुलाई पक्राउ गरेको नेकपा निकट श्रोतले बतयो ।

जिल्ला सदस्य तथा एरिया ईञ्जार्च सन्तोष परियार (परिवर्तन), विद्यार्थी संगठनका केन्द्रिय सदस्यहरु मिलन राई र काजी गुरुङ सहितका नेता कार्यकर्ता पक्राउ परेका श्रोतले बतायो । स्थानीय आमा समुहको भवनमा बैठक बस्दै गर्दा प्रहरीले भवन घेराउ गरेको बताईएको छ ।

‘घेराउ गरेको भन्ने सुनिएको छ । तर कोको आएका थिए भन्ने जानकारी भएन,’ छोम्रोङका एक स्थानीयले भने । पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बैठक बस्दै गर्दा हल नै प्रहरीले घेराउ गरेको बताईएको छ ।

यद्यपी कास्की प्रहरी प्रमुख दानबहादुर केसीले चाहीँ खुलाउन चाहेनन् । ‘पक्राउ परेपछि खवर गरौंला । अहिले पक्राउ परिसक्नु भएको छैन,’ उनले भने । त्यसतर्फ थप सुरक्षाकर्मी पठाउने तयारी बुझिएको छ ।