विप्लव समूह कास्कीका इन्चार्ज र पत्रकार पोखराबाट पक्राउ

पोखरा, भदौ ६ ।

नेत्र विक्रम चन्द (विप्लव) समूहका कास्की र स्याङजा जिल्ला इन्चार्ज कृष्ण वाग्ले (रुपेश) पक्राउ परेका छन् । उनलाई पोखरा ३० खुदीबाट पक्राउ गरिएको हो । स्थानीयलाई डर देखाएर त्रसित बनाएको आरोपमा कास्की प्रहरीको टोलीले रुपेश र पत्रकार ओम हमाललाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी गएपछि उनीहरु खेतखेतै भागेका थिए । भाग्नेहरुमध्ये २ जनालाई मात्रै पक्रिन सफल भएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजन केसीले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी कानुनी प्रक्रिया सुरु भैसकेको केसीले बताए ।

हमाल जनसञ्चार डटकमका सम्पादक हुन् । उनको पक्राउको विरुद्धमा नेपाल पत्रकार महासंघ कास्कीले विज्ञप्ती जारी गरी विरोध जनाएको छ भने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र नेपाल प्रेस युनियन कास्कीले पनि विरोध जनाएका छन् ।

साथै हमाललाई तत्काल विनाशर्त रिहाईको समेत माग गरिएको छ ।