विप्लव समूहद्वारा मुलुकका विभिन्न जिल्लामा रहेका २२ एनसेल र एउटा टेलिकम टावरमा आगजनी

 

काठमाडौं, साउन १६ ।

 

नेत्रविक्रम चन्द विप्लब समूहले मुलुकका विभिन्न जिल्लामा रहेका झण्डै २ दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी ९एनसेल० र नेपाल टेलिकमको टावरमा आगजनी गरी क्षति पुर्‍याएको छ ।

 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा आगजनी भएको हो ।

 

बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरण अनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिएका छन् । अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा १ जनालाई भने पक्राउ गरिएको उनले बताए ।

 

प्रहरीले दिएको जानकारी अनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो ।

 

यस्तै अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ ।

गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय  (डिस्पोज) गरेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो । रासस