विपक्षीहरु मैदान छोडेर भागिसके—चालिसे

पोखरा, कार्तिक २५ ।
नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले विपक्षीहरु आफ्नै आँगनमा डराएर अर्को क्षेत्रमा शरण लिन पुगेको बताएका छन् । पोखरा १६ अर्मलामा चुनावी प्रचार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा गाउँघरमा केही गर्न नसकेपछि पर्यटक भएर अर्को क्षेत्रमा चुनाव लड्न जानुपरेको आरोप लगाए । ‘ताकत भए आफ्नै क्षेत्रबाट चुनाव लड । आफ्नो आँगन बनाउन नसकेर पर्यटकको रुपमा अर्काको शरणमा पर्नेले केही गर्ने साहस राख्दैन, उनले भने—विपक्षीले चुनाव हारे, हाम्रो जितको थालनी भैसकेको छ । आफ्नो घरमा शुद्धता देखाउन नसक्ने मान्छेले अर्काको घर बनाउने सपना देख्नु मुर्खता भएको चालिसेको भनाई छ । ‘आफ्नो कार्यकालमा नगरपालिका के भयो आँफैले देखे, कोमागाने पार्कको हालत जनताले बुझेका छन्, एमाले अध्यक्ष कृष्ण थापालाई लक्षित गरी उनले थपे—नेता मालिक बनेपछि मैदान छोडेर भाग्नुपरेको छ । त्यसैले काँग्रेसले चुनाव जितिसकेको छ ।’ सांसद भएपछि आँफु पूरै जनताको सेवामा लाग्ने भन्दै उनले तलवभत्ता र सेवा सुविधा पूर्ण रुपमा सडक बालवालिकाको शिक्षामा खर्च गर्ने दोहो¥याए ।
उनले युवाहरु देशको मजबुती भएकाले उनीहरुलाई देश छोड्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘स्वरोजगार सिर्जना गरेर सबै युवालाई नेपाल मै रोक्ने वातावरण सरकारले बनाउँछ । म त्यसमा दत्तचित्त भएर लाग्नेछु, उनी भन्छन्—अहिले देशलाई युवाको खाँचो छ र युवालाई रोजगारीको । त्यो कम्बिनेसन काँग्रेसले मिलाउँछ ।’