विद्या भट्टराईले लिइन् प्रतिनिधिसभा सदस्यको शपथ

 

काठमाडौं, पुस १ ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर–२ बाट निर्वा्चित विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदको कृषि तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित समारोहमा उनलाई शपथग्रहण गराइन् ।

सभामुख नभएको अवस्थामा उपसभामुख तुम्बाहाङफेले उनलाई सांसदको शपथ गराएकी हुन् ।

बलात्कार प्रयास गरेको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महाराले पदबाट राजीनामा दिएका थिए । त्यसपछि सभामुख पद रिक्त छ ।

चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दृढता

शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले कानुन निर्माणका विषयमा आफ्नो प्राथमिकता रहने बताइन् । चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने दृढता उनले व्यक्त गरिन् ।

गएको मंसिर १४ गते भएको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका तर्फबाट उम्मेदवार बनेर भट्टराई निर्वाचित भएकी हुन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त कास्की–२ मा नेकपाले रवीन्द्रकी पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।(ईमेजखबरबाट साभार)