विद्यार्थी राजनीतिका बादशाह दोश्रो पटक सांसद

प्रकाश ढकाल
पोखरा, मंसिर २५ ।
खगराज अधिकारी विद्यार्थी राजनीतिका बादशाह हुन् । उनी एमालेका पूराना नेता तर उनको राजनीतिक सक्रियता सँधै नयाँ । ५६ बर्षिय अधिकारी २०१८ सालमा कास्कीको बेगनासमा जन्मिए । सानै उमेरदेखि उनको चाख राजनीतिमा थियो । १४ बर्षको कलिलै उमेरमा उनले पार्टी सदस्यता लिए । त्यसपछि २०३७ सालमा उनी पूर्णकालीन कार्यकर्ता भएर लागे । त्यसअघि नै अधिकारी २०३६ सालमा अखिलको कास्की जिल्ला अध्यक्ष बने । पूर्णकालिन कार्यकर्ता बनेपछि उनी पिएन क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए भने २०४० र ४१ मा लगातार दुई कार्यकाल पिएन क्याम्पसको स्ववियुमा निर्वाचित भएर विद्यार्थी राजनीति हाँके । उनै अधिकारी सातौं राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय उपाध्यक्ष भ एभने २०४६ मा कास्कीको जिल्ला सचिव हुँदै ४ कार्यकालसम्म पार्टीको जिल्ला प्रमुख भएर काम गरे ।
नेपाली जनताको पक्षमा आवाज उठाएकै आधारमा अधिकारी २०४२ सालमा प्रहरीबाट पक्राउ परे । ४ बर्षपछि गौर जेलबाट उनी फरार भए ।

फरार भएपछि २०४६ मा वाममोर्चा र काङ्ग्रेसको संयुक्त आन्दोलन संयोजन समितिको संयोजक बन्न भ्याए । अधिकारी २०४६ सालमा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार बने तर बिजयी हुन सकेनन् । त्यसपछि २०५१ म एमालेका सचेतक हुँदै उतिबेलै कास्की १ बाट बिजयी भए ।
तर त्यसपछिको राजनीति अधिकारीका लागि फापेन । लगातारको संसदीय चुनावमा (२०५६ र २०६४) पराजीत भएका उनी राष्ट्रिय ताल संरक्षण समितिको अध्यक्ष बन्न पुगे । आठौं महाधिववेशन पश्चात् पाटीको पोलिटव्युरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्जमा निर्वाचित अधिकारी २०७० सालमा सांसद नभएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगे । अधिकारी दोश्रो पटक कास्की १ बाटै सांसद चुनिए । उनले नेपाली काँग्रेसका नेता तथा बहालवाला कानुनमन्त्री यज्ञबहादुर थापालाई पराजीत गरेका हुन् ।