विदेशबाट मिसकल आयो ? होसियार !

एजेन्सी, कार्तिक १२ ।
तपाईंको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? छ भने, महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नुस, तपाईंको ब्यालेन्स गुम्न सक्छ ।

विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन् ।

विदेशी नम्बरबाट आएको कल फिर्ता गर्दा एक दुई सेकेन्ड मात्र कुरा गर्दा पनि मोबाइलको ब्यालेन्स स्वात्तै काटिने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ ।

२–३ सेकेन्ड मात्र कल गर्दा पनि १–२ सय रुपैयाँसम्म ब्यालेन्स काटिन सक्छ । यस्ता कल ठग्ने उद्देश्यले आइरहेका छन् । विभिन्न देशका नम्बरबाट नेपालमा त्यसरी कल आउने गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

सामान्यतया, नेपालबाट विदेशमा कल गर्दा त्यहाँको ‘अपरेटरले’ले कल ‘टर्मिनेसन शुल्क’ प्राप्त गर्छन् । त्यही शुल्क उठाउने उद्देश्यले विदेशबाट मिस्ड कल गर्ने गरेको पाइएको छ । अपरेटरसँग मिलेर त्यस्ता कल गर्ने र राम्रो शुल्क उठाउने गरेको प्राधिकरणले जनाएको छ ।