विज्ञ समूहको सिफारिस विपरित पोखरा महानगरले बनायो मनपरि मापदण्ड

पोखरा, माघ ३ ।
पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्रका भौतिक संरचना र अन्य मापदण्ड तय गर्न विज्ञ समूह गठन गर्यो । लामो समय अध्ययन र मेहिनत गरेपछि समितिले महानगरलाई मापदण्डबारे सिफारिस प्रतिवेदन बुझायो ।

तर समितिले बुझाएको प्रतिवेदन भन्दा विल्कुलै फरक बनाएर महानगरले मनपरि मापदण्ड कायम गरेको छ । सडक र घरको भौतिक संरचना निर्माण गर्दा नदी र खोलाबाट हुनुपर्ने दूरी निर्धारणबारे नयाँ मापदण्डप्रति विज्ञ समितिका सदस्यले नै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

खोला र नदी किनारबाट रहनुपर्ने संरचनाको दूरी सम्बन्धी मापदण्डमा विज्ञ समितिका सदस्यको बढी चासो र चिन्ता छ । इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालीन डीन भरत पहारीको संयोजकत्वमा गठित विज्ञ समितिले सेती नदीबाट ५० मिटरको दूरीसम्म घर र सडक बनाउन नपाउने मापदण्ड बनाइएको थियो । तर महानगरले विज्ञको प्रतिवेदनलाई लत्याउँदै संशोधनसहित नयाँ मापदण्ड कायम गरेको छ । जसमा सेती नदीबाट ५ देखि ३० मिटरसम्म दूरी रहनुपर्ने मापदण्ड कायम गरिएको छ ।

महानगरले बनाएको नयाँ मापदण्ड विज्ञ समूहको सिफारिस विपरीत रहेको विज्ञ समिति सदस्य समेत रहेका भूगोलविद् डा. कृष्ण केसीले बताए । उनले भने, ‘मापदण्ड समितिले सेतीको मापदण्ड ५० मिटर राखेको छ । तर हाल सघन बस्ती भएका ठाउँमा केही लचक बन्ने हाम्रो प्रस्ताव थियो । अहिले भइरहेका घर नभत्काउने र नयाँ घर बनाउँदा ५० मिटर कायम गराउने सुझाव दिएका हौं । तर फरक आएछ । अन्तिम मापदण्ड तयार गर्दा विज्ञ समूहसँग समन्वय नै भएन ।’

महानगरले आफूँखुशी निर्णय गर्ने भए विज्ञ समिति किन गठन गरेको भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे । नयाँ मापदण्डले केहीलाई फाइदा पुग्ने भएपनि जोखिम र पोखराको दीर्घकालीन भविष्य चुनौतिपूर्ण हुने उनको जिकिर छ ।

महानगरका मेयर मानबहादुर जिसीले उपत्यका नगर विकास समितिको २०६१ सालको निर्णय र शहरी विकास मन्त्रालयको २०७३ सालको सिफारिस आधारमा सेती नदीको मापदण्ड तय गरिएको बताए । नयाँ मापदण्डमा पोखराको नारायणस्थान पुलदेखि महेन्द्र पुल हुँदै राममन्दिर तुलसीघाटसम्म ५ मिटर दूरी रहनुपर्ने मापदण्ड कायम छ ।

जौवारी बाँधदेखि केआईसिंह पुलसम्म १० मिटर मापदण्ड छ । बस्ती नभएको कालीखोलाको साँधदेखि नारायणस्थानसम्म २५ मिटर र अन्य ठाउँमा ३० मिटर दूरी रहनुपर्ने मापदण्ड कायम गरिएको छ । सेतीभन्दा निकै साना खोलाहरू फिर्के र बुलौदीमा सबैतिर एकैप्रकारको मापदण्ड छ ।

पृथ्वीचोकदेखि विजयपुरसम्म सडकका लागि सर्वोच्च अदालतले निर्णय गरेअनुसार ७५ मिटर सडकको राईट–अफ–वे र २ मिटर सेटब्याक छोड्नुपर्ने तथा विजयपुरदेखि कोत्रेसम्म ८२ मिटर राइट–अफ–वे छोड्नुपर्ने छ ।

फेवातालको मापदण्डमा सर्वोच्च अदालतको आदेशबमोजिम कार्यान्वयन गराउने निर्णय भएको छ । सर्वाेच्चले ६५ मिटर दूरी हुनुपर्ने भनेको थियो । साना नहरमा नहरको क्षेत्राधिकारबाट २ मिटर तथा कच्ची कुलोमा किनारबाट साढे १ मिटर मापदण्ड छ । महानगरले नयाँ नियममा दोहोरो मापदण्ड हटाएको छ ।

दोहोरो मापदण्ड परे शुरूको घडेरीलाई मुख्य सडकतर्फ महानगरको प्रचलित मापदण्ड लागू गर्ने र मुख्य सडकबाट खोलिएको शाखा बाटोतर्फ नापी नक्सामा काटिएको बाटोको किनाराबाट १ मिटर कायम गरिने जनाइएको छ । एउटै बाटो भए घडेरीको दोहोरोतर्फ नै १ मिटर कायम गर्ने निर्णय महानगरले गरेको छ ।

महानगरभित्र १० मिटरसम्म अग्ला घर बनाउँदा ३ फिट सेटब्याक छोड्नुपर्ने छ । महानगरभित्रका भित्रि सडकमा ५० मिटर, लामो बाटोमा १० फिट र १ सय मिटर बाटोमा १३ फिट ३ इन्च फराकिलो बनाउनुपर्ने नयाँ नियम बनाइएको छ ।