वाम गठबन्धनमा कुन पार्टीलाई कति सीट ?

काठमाडौं, असोज १९ ।
ठूला वामपन्थी शक्तिहरुबीच चुनावी तालमेल भएपछि अहिले उनीहरु बीचमा सीट बाँडफाँडबारे छलफल र बहस सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी भएको एकताले दुई निर्वाचन चिह्नमा भाग लिने निश्चित भएको छ ।
गठबन्धनले नेकपा एमालेको चुनाव चिह्न सूर्य र माओवादी केन्द्रको हसिँया हथौडा लिएर दुवै तहको निर्वाचनमा भाग लिनेछ । सहमति अनुसार ६०–४० प्रतिशतका आधारमा कुन जिल्लामा कसले कति सिट पाउने भन्ने विषयमा नेताहरु आन्तरिक छलफलमा ब्यस्त छन् ।
तर, सहमति हेर्दा ७ प्रदेशमा प्रतिनिधिसभामा कायम रहेको कुल १ सय ६५ सिटमध्ये ९९ र ६६ मा भाग लाग्ने देखिन्छ । प्रतिनिधिसभामा एमालेको सूर्य ले ९९ र माओवादीको हसिँया हथौडाले ६६ उम्मेदवार पाउनेछ ।
७५ जिल्लामा हुने निर्वाचनमा सूर्यबाट हृदयेश त्रिपाठीको समूह र बाबुराम भट्टराईको नयाँ शक्ति पनि लड्नेछन् । माओवादीको निर्वाचन चिह्नबाट भने प्रेमबहादुर सिंहको समाजवादी दल र लोकमणि ढकालको जन जागरण पार्टी पनि लड्नेछन् ।
प्रदेशसभा निर्वाचनका लागि ३ सय ३० सिट संविधानले तोकेको छ । त्यसमा सहमति अनुसार भागवण्डा गर्दा सूर्यमा १ सय ९८ र हँसिया–हथौडामा १ सय ३२ सिट बाँडिनेछ । तर, यसैभित्रै गठबन्धनमा जोडिएका अन्य दललाई पनि सिट संख्या मिलाउनुपर्नेछ ।
सबै दललाई समेटेर जिल्लागत उम्मेदवारी मनोनयन गर्ने विषय प्राविधिक भएकाले संयुक्त बैठक बसेर मिलाउने शीर्ष नेताहरुले बताएका छन् ।