वाम गठबन्धनको चेपुवामा देउवा, राजीनामा आजै

पोखरा, फागुन २ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजीनामा दिने मनस्थिती बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने सोचमा पुगेका हुन् । प्रेस सल्लाहकार गोविन्द परियारले चाहीँ अहिलेसम्म टुंगो लागिनसकेको बताए । ‘टुंगिसकेको होईन । आकलन गरेर समाचार आएका हुन्, डिएनए नेपाल डटकमसँग कुरा गर्दै उनले भने–केही बेरमा टुंगिएला । सम्भवतः आजै राजीनामा नआउन सक्छ ।’ आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसद्को सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्ने छ ।
उता एकल बहुमतीय सरकार बनेको सन्देश दिने गरी एमाले र माओवादी केन्द्र चाहीँ केही दिनभित्रै पार्टी एकतालाई औपचारिक रुप दिने कसरतमा जुटेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाएलगत्तै सरकार बनाउने योजनामा रहेका एमाले–माओवादीले त्यसअघि नै एउटै पाटी बनिसकेको सन्देश दिन खोजेका छन् । आयोगले ५ गतेभित्रै सूची बुझाइसक्ने तयारी गरेको छ । त्यसलगत्तै दुई दलका नेताले राष्टपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि अनुरोध गर्नेछन् । पार्टी एकताको विधि र सरकारको स्वरुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सैद्धान्तिक सहमति गरिसकेका समाचारहरु आईरहेका छन् । अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ ।